
काठमाडौं, २२ मंसिर । नेकपा (एमाले)को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ आज पोखराका विभिन्न स्थानका कार्यक्रम सकेर लमजुङ र गोरखा जाँदैछ ।
यात्राको नवौँ दिन आज गण्डकी प्रदेशको यात्रा समापन हुनेछ । आजको यात्रा पोखराबाट सुरु भएर नयाँपुल, रामटार, काँडे र भोर्लेटारमा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट हुनेछ ।
बिहानको खाना लमजुङको सुन्दर बजारमा हुनेछ भने यही ठाउँमा आमसभा पनि हुने पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । आमसभा सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीसहितको केन्द्रीय टिम आज गोरखामा बास बस्नेछ ।
मध्य पहाडका सामाजिक आर्थिक, सांस्कृतिक अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन, स्थानीयबासीसँग अन्तरक्रिया गरेर त्यहाँका समस्याको पहिचान र समाधान उपायको खोजीमा मंसिर १४ गतेबाट एमालेले मध्यपहाडी राजमार्गको यात्रा सुरु गरेको हो ।
सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित मंसिर १४ गते राजमार्गको पश्चिमी विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पुस २ गते पाँचथरको चिवाभञ्जयाङ मा टुंगिनेछ ।











प्रतिक्रिया