
सुर्खेत, १८ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली देशमा मनपरीतन्त्र चलिरहेको आरोप लगाएका छन् ।
बैतडीको झुलाघाट मध्यपहाडी लोकमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पुगेका अध्यक्ष ओलीले अहिले अपवित्र गठबन्दनको सरकारका कारण देशको राष्ट्रियता कमजोर भएको, देशको स्वतन्त्रा कमजोर भएको र सीमा रक्षामा पनि चुकेको बताए ।

देश चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ प्रतिशत ब्याजदरमा जनतासँग आन्तरिक ऋण लिएर कर्मचारी पाल्नुपर्ने, ऋण काडेर देश चलाउनु पर्ने नाजुक अवस्थामा पुगेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री ओलीले भने, ‘देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ । देशलाई भ्रष्टाचार, घूसखोरी, कमिशनतन्त्रको जालोले छोपेको छ । देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ । यो अवस्था गठबन्दन सरकारले ल्याएको हो ।’
उनले यो एमालेलाई मात्रै नभएर सबै राजनीतिक दल, जनतालाई पनि चिन्ता हुनुपर्ने बताए । सरकारमा सहभागि दल कानमा तेल हलोर बसेको दावी गर्दै अध्यक्ष ओलीले सत्तागठबन्दन दलहरुले देशमा विभाजन र बिखण्डनको बिउ रोपेको आरोप लगाए ।
अहिले कृषिका उर्वर भूमिहरु उजाड हुँदै गएको बताउँदै उनले दुनियाँमा हाम्रो भन्दा विकट भूगोल भएका देशहरु विकास र समृद्धिका हिसाबले निकै राम्रो फड्को मार्दै गएका बताए । अध्यक्ष ओलीले स्थलगत अनुगमन र नयाँ कामका सम्भावनाका बारेमा स्थानीयसँग छलफल गर्नका लागि यो अभियान सुरु गरेको बताए ।

सुर्खेतमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै ओलीले देशको स्वाभिमान, देशको अस्थित्व रक्षा र समृद्धिका लागि, भ्रष्टाचार र घुषखोरी अन्त्यको लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गरे । उनले वर्षका आधारले मात्रै राजनीतिक दल पुरानो नहुने बताए । पछिल्लो समय ठूला राजनीतिक दलहरुलाई पुराना दलको संज्ञाप्रति इंगित गर्दै ओलीले पार्टीको नीति, बिचार र कार्यक्रमका आधारमा मात्रै राजनीतिक पद नयाँ र पुरानो हुने बताए ।
‘कुनैपनि वर्षले पुरानो हुने होइन नीति र बिचारले पुरानो हुने हो । कांग्रेस पार्टी पुरानो भयो । अहिलेको सरकार पुरानो भयो । कुनै नीति, भिजन र उद्देश्य बिहिन सरकार एक वर्षमै धेरै पुरानो भइसक्यो’, प्रतिप्रश्न गर्दै उनले भने, ‘एमालेलाई पुरानो भयो भन्ने को हो ? हाम्रो पार्टीलाई कसले पुरानो भयो भन्छ ? हामीसँग देशको रूपान्तरण गर्ने, नीति, उद्देश्य, कार्यक्रम, अभियान नयाँ छ, गतिसिल छ । त्यसैले एमाले पुरानो दल होइन बरु एमालेलाई पुरानो देख्ने नजर पुरानो हो ।’

सुर्खेतको पार्टी कार्यालय अघि आयोजना गरेको सन्देश सभामा अध्यक्ष ओलीकी धर्मपत्नि राधिका शाक्य, पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञावली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, योगेश भट्टराई लगायत स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका नेता कार्यकर्ता सहभागी थिए ।

कार्यक्रम लगत्तै ओलीको टोली पुरातात्त्विक महत्त्व बोकेको कांक्रेबिहानको अवलोकनमा गएको छ । विभिन्न कार्यक्रम र भेटघाटमा सहभागी हुँदै एमाले अभियान टोली आज सुर्खेतमै बास बस्ने एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज गोरख बोगटीले जानकारी दिए ।















प्रतिक्रिया