
चितवन, १७ मंसिर । चितवनको भरतपुर महानगरपालिका– १२ मिलनचोक स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको पहिचान हुन नसकेपछि प्रहरीले स्केच तस्वीर सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले बोराभित्र मृत अवस्थामा फेला परेका महिला र पुरुषको स्केच तस्वीर सार्वजनिक गरेको हो । प्रहरीले मृतकहरुको अनुहार प्रष्ट्याउने किसिमको विशेषज्ञद्वारा तयार पारिएको स्केच आज फेसबुकमार्फत् सार्वजनिक गरेको हो ।
अन्दाजी २४-२५ वर्ष उमेर देखिने ५ फिट ७ इन्च उचाइ भएको पुरुष र सोही स्थानमा ३०-३१ वर्षकी ५ फिट ३ इन्च उचाइ भएकी महिलाको शव सडेगलेको अवस्थामा फेला परेको थियो ।
शव फेला पारेपछि ७७ वटै जिल्ला प्रहरी कार्यालय लगायत सीमावर्ती भारतीय इलाकाहरुमा समेत हुलिया परिपत्र गर्दा हालसम्म मृतकहरूको सनाखत तथा पहिचान हुन नसके पछि प्रहरीले स्केच सार्वजनिक गरेको हो ।
स्केचसहित मृतकहरुको हुलिया, शरीरमा भेटिएका चिजवस्तु, चिन्ह तथा कपडाहरुको विवरणसहितको फोटोबाट सनाखत हुन सक्ने भएकोले सार्वजनिक गरिएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीले कोही कसैको परिवारका सदस्य, आफन्तजन तथा साथीसंगी हराइरहेको भएमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।















प्रतिक्रिया