
काठमाडौं, १४ मंसिर । नेपालको कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत रहेको कृषि जनगणनाले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार ललितपुरमा दीगो विकास लक्ष्यको सूचक ५.ए.१ सम्बन्धी राष्ट्रिय कृषिगणनाबाट प्राप्त नजिता सार्वजनिक गर्दै कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने नेपालको जम्मा कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत रहेको जनाएको हो ।
प्रदेशगत रुपमा सवै भन्दा बढि गण्डकी प्रदेशमा ३८ दशमलव ५ र सवैभन्दा कम कर्णाली प्रदेशमा २८ दशमलव ७ प्रतिशत रहेको तथ्यांक कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले जानकारी दिनुभयो । कृषिगणनाको नतिजाले ६२ प्रतिशत घरपरिवार कृषिकार्यमा संलग्न रहेको देखाएको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार कृषि परिवारमा रहेका कूल वस्यकपुरुषमध्ये ४२ दशमलव ९ प्रतिशत वयस्क पुरुषको कृषि जग्गामा स्वामित्व रहेको छ भने महिलाको हकमा उक्त प्रतिशत २० दशमलव ८ प्रतिशत मात्रै रहेको छ । कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले दीगो विकास लक्ष्यमा कृषि जग्गामा समानताको विषय सूचकको रुपमा राखिएकाले जनगणनामा उल्लेख गरिएको बताए ।
उनले सन २०३० सम्म ४० प्रतिशत महिलाको पहुँच पुराउने लक्ष्य सरकारको रहेको र त्यसनजिक पुगेको धारणा राखे । उनले नेपाल जीवनस्तर मापन सर्वेक्षण जनवरीको दोश्रोहप्तासम्म सार्वजनिक गरिने जानकारी पनि दिएका छन् ।
सर्वेक्षणका आधारमा नेपालका गरिवीको सूचक सार्वजनिक हुने उनको भनाइ छ । रायाले कार्यालयको डाटालाई हेर्न सहज होस भनेर वेवसाइटमा नै हेर्न सक्ने व्यवस्था गरिएको पनि बताए ।















प्रतिक्रिया