बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा आजबाट

दैनिक नेपाल २०८० मंसिर १४ गते ६:२३

बैतडी, १४ मंसिर । नेकपा (एमाले)ले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ आज बिहीबारबाट सुरु गर्दैछ ।

सुदूरपश्चिमको बैतडी झुलाघाटमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ८ः३० बजे नेपालको झण्डा झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’गर्न लागेको हो ।

कार्यक्रमका लागि एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरु गोकर्ण विष्ट, लेखराज भट्ट, पद्मा अर्याल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्यहरु भानुभक्त ढकाल, डाक्टर राजन भट्टराई लगायतका नेताहरु बैतडी आइपुगिसकेका छन् ।

१ हजार ८७९ किलोमिटर मध्यपहाडी लोकमार्ग हुँदै अघि बढ्ने पदयात्रामा सभा समेत हुनेछ ।

आज पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ । भोलि दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ । तीन साता लामो यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ ।

जनतासँग प्रत्यक्षरूपमा हातेमालो गरेर अगाडि बढ्नका लागि पदयात्रा अभियानको आयोजना गरिएको एमालेले जनाएको छ । अभियानले मध्यपहाडी लोकमार्गका जनतालाई एमालेसँगको सम्बन्ध थप मजबुद र सुमधुर बनाउने पार्टीको विश्वास छ ।

यसअघि एमालेले विंस २०७४ सालको फागुनमा मेची–महाकाली अभियान सञ्चालन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित