बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

क्यानडा पठाउने प्रलोभन देखाइ करोडौँ रकम ठगेर कन्सल्टेन्सी सञ्चालक फरार

'प्रहरी र वैदेशिक रोजगार विभागमा उजुरी गर्दा भएन सुनुवाई'

दैनिक नेपाल २०८० मंसिर १३ गते १९:२७

काठमाडौं, १३ मंसिर । वर्क परमिट भिसामा क्यानडा पठाउने भन्दै एक कन्सल्टेन्सीले करोडौँ रुपैयाँ असुलेर फरार भएको छ ।

काठमाडौंको पुरानोबानेश्वरस्थित कात्यानी चोकमा अवस्थित एजुकेशन कन्सल्टेन्सी ‘क्यारियर कनेक्ट प्रा.लि.ले विभिन्न व्यक्तिसँग करोडौँ रुपैयाँ उठाएर फरार भएको हो ।

नरेन्द्र कुमार गुप्ता र प्रवीण कुमार झाले सञ्चालन गरेको सो कन्सल्टेन्सीले करिब ७० जनासँग दुईदेखि १० लाख रुपैयाँसम्म उठाएर फरार भएको पीडितहरूले बताएका छन् । एजुकेशन कन्सल्टेन्सी भए पनि आफूहरूले वर्क परमिट भिसामा वैधानिक रुपमै क्यानडा पठाउने भन्दै कन्सल्टेन्सीका सञ्चालकहरूले ती व्यक्तिहरूसँग तीन करोड रुपैयाँ बढी ठगी गरेर अन्तत: फरार भएका हुन् ।

क्यानडा जान कन्सल्टेन्सी पुगेका कुमार ठटाल नामका व्यक्तिलाई सञ्चालकद्वय गुप्ता र झाले कार्यालयमा कर्मचारी बनाइ उनै ठटालको नामबाट कन्सल्टेन्सीले विभिन्न व्यक्तिसँग करोडौं रकम असुल गरी ठगी गरेको पाइएको छ । स्रोतका अनुसार सञ्चालक गुप्ता र झाले कुमार ठटाललाई क्यानडाको भिसा प्राप्त नहुञ्जेल कार्यालयमै बसेर काउन्सिलिङ गर्नेगरी कर्मचारी नियुक्त गरेको र ठटालको समेत बैंक खाता प्रयोग गरेर व्यक्तिहरूमाथि ठगी धन्दा चलाएको बुझिएको छ ।

कन्सल्टेन्सी सञ्चालक प्रवीन कुमार झा

अहिले उनै ठटाललाई रकम ठगी गरेको ‘झूठो आरोप’ लगाएर पीडितहरूमा भ्रम फैलाएर सञ्चालकद्वय गुप्ता र झा भारत पलायन भएको स्रोतको दाबी छ । फलस्वरुप अहिले पीडितहरूले आफ्नो रकम फिर्ता माग्दै ठटालमाथि दबाब सृजना गरिरहेका छन् । पीडितहरूले ठटालविरुद्ध प्रहरीमा उजुरी समेत गरेका छन् । तर, ठटाल आफूले गर्दै नगरेको गल्तीको भागीदार नहुने भन्दै भारततिरै पलायन भएको स्रोतको भनाइ छ ।

एक पीडितका अनुसार ठटालले ती सञ्चालकहरूलाई नेपाल फर्किएर कार्यालय खोली पीडितहरूको पैसा फिर्ता गराउन बारम्बार पहल गरे पनि उनीहरूले वास्ता नगर्ने र उल्टै विभिन्न धम्की दिने गरेका छन् । पीडितहरूले सञ्चालकहरू लुकेर बसेको भारतको चण्दीगढमा पुगि रकम फिर्ता गर्न माग गर्दा उल्टै कुटपिट गरिएको पीडितहरूले बताएका छन् ।

यता, पीडितहरूको तीव्र दबाबमा रहेका कुमार ठटाल सो कन्सल्टेन्सीका कर्मचारी मात्र रहेको र सञ्चालक प्रवीणकुमार झाको निर्देशन अनुसार काम गर्न उनलाई बाध्य पारिएको बताइएको छ । ठटालले काम नगर्ने भनी कार्यालयबाट राजीनामा दिँदा समेत उनीहरूले ‘हामीले भनेको काम नगर्ने भए पाँच करोड दे नत्र फसाइदिन्छौँ‘ भन्दै विभिन्न डर, धाक र धम्की देखाइ ब्ल्याकमेलिङ गरी काम गर्न बाध्य बनाएका थिए ।

सञ्चालक झाले ठटालको बैंक खाता प्रयोग गर्ने तथा उनकै चेक ग्राहकलाई थमाएको र पैसा चुक्ता नगरी फरार भएको पाइएको छ । अहिले उनको बैंक खाता समेत कालोसूचीमा परिसकेको छ । क्यानडा जाने भनेर सोही कन्सल्टेन्सीलाई २२ लाख रुपैयाँ बुझाएर पीडित बनेका ठटालले आफूसहित सबै पीडितको पैसा फिर्ता गराउने योजना बनाए पनि अन्य पीडितले उनलाई साथ दिएनन् । बरु उल्टै ठटाल र उनको परिवारलाई समेत मानसिक तनाव दिने गरेको स्रोतको भनाइ छ । दबाब थेग्न नसकेरै उनी विदेश पलायन हुन बाध्य भएको स्रोत बताउँछ ।

‘सञ्चालकद्वय गुप्ता र झालाई नेपाल झिकाएर आफूसहित ठगीमा परेका सबै ग्राहकको पैसा फिर्ता दिलाई राज्यले न्याय दिनेछ भन्ने अपेक्षा मलाई छ । त्यस्तै, अन्य पीडितहरूले पनि वास्तविकता बुझेर आफूलाई सहयोग गरी वास्तविक पीडकलाई कानुनी दायरामा ल्याउन साथ दिनुहुनेछ भन्ने विश्वास छ,’ समाचार स्रोतमार्फत ठटालले भनेका छन् ।

ठटालले प्रहरी र वैदेशिक रोजगार विभागमा पनि उजुरी दिएका थिए । तर आफ्नो उजुरीलाई प्रहरी र वैदेशिक रोजगार विभागले कुनै सुनुवाई नगरेको उनले आरोप लगाएका छन् ।

क्यारियर कनेक्ट कन्सल्टेन्सीका सञ्चालकद्वय गुप्ता र झाले अन्य शैक्षिक संस्थाहरूमा जोडिएर समेत ठगी गरेको, नेपाली नागरिकता दुरुपयोगमा संलग्न रहेको तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई समेत गुमराहमा राखेकोलगायत विभिन्न कीर्ते कामको प्रमाण दैनिक नेपाललाई प्राप्त भएको छ । ती विषयहरू क्रमश: प्रकाशित गर्दै जानेछौँ ।

प्रतिक्रिया
सम्बन्धित