सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो

दैनिक नेपाल २०८० मंसिर १२ गते ८:०५

काठमाडौं, ११ मंसिर । कोरोना भाइरसको संक्रमणविरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी दिए । उनका अनुसार खोप कोभ्याक्समार्फत बुस्टर डोजका लागि ल्याइएको हो । यसअघि गत मंसिर ८ गते तीन लाख ७३ हजार खोप आएको थियो ।

कोभ्याक्सले कूल सात लाख ५० हजार मात्रा खोप बुस्टर डोजका लागि उपलब्ध गराएको हो । अहिले पनि प्रदेश तहबाट बुस्टर डोजका लागि खोपको माग हुने गरेको छ । ती आएका खोपलाई प्रदेशमा पठाइनेछ ।

सरकारले अहिलेसम्म ६ करोड ६९ लाख ८३ हजार दुई सय ७० मात्रा खोप ल्याइसकेको छ । यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ११ लाख ५७ हजार पाँच सय २२ संक्रमित र १२ हजार ३१ जनाको निधन भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित