२७ कार्तिक २०८३, शुक्रबार

एमाले उपमहासचिव ज्ञवाली र सीपीसी विदेश विभाग उपमन्त्री सुनबीच भेटवार्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, १२ मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ।

उपमहासचिव ज्ञवालीसँगै चीनमा रहेका एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार भेटका अवसरमा दुई पार्टीबीच रहँदै आएको मैत्रीपूर्ण, हार्दिक र लामो सम्बन्धका विविध पाटोका बारेमा कुराकानी भएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुई देशबीच अत्यन्त महत्वपूर्ण सम्झौताहरू भएको स्मरण गर्दै उपमन्त्री सुनले तिनको सफल कार्यान्वयन हुने विश्वास व्यक्त गरेकी छन् ।

एमाले उपमहासचिव ज्ञवालीले तत्कालीन परराष्ट्रमन्त्री भएको बेलामा नेपाल-चीनबीचको सम्बन्ध रणनीतिक साझेदारीमा स्तरोनन्त भएको उल्लेख गर्दै विगतका सबै सहमति/सम्झौता कार्यान्वयन गर्न एमाले प्रतिबद्ध रहेको बताए ।

चाइनिज एकेडेमी अफ सोसल साइन्सेजले आयोजना गर्न लागेको १३औँ विश्व समाजवाद मञ्चमा भाग लिन उपमहासचिव ज्ञवाली र केन्द्रीय सदस्य रिजाल चीन गएका हुन् । उक्त कार्यक्रममा नेपालका तर्फबाट समाजवाद निर्माणको नेपाली बाटो– ‘समृद्ध नेपालः सुखी नेपाली’का बारेमा धारणा राखिने रिजालले उल्लेख गरेका छन् ।