काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको चुच्चे नक्शा अद्यावधिक गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ का तीनवटा विद्यालयका विद्यार्थीहरूसँगको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा अद्यावधिक गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको र देशका लागि नभई अरूका लागि कम्फर्टेबल सरकार गठन भएको स्पष्ट बताउनुभएको हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज भएको साक्षात्कारमा अध्यक्ष ओलीले विद्यार्थीहरूले राखेका जिज्ञासाको जवाफसहित सम्बोधन गरेका थिए । विद्यार्थीहरूले शिक्षाको गुणस्तर सुधार, उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति, शिक्षा नीति, चुच्चे नक्शा प्रकाशनपछि अद्यावधिक भएको नेपालको नक्शा र भूभागका साथै देशको विकास र समृद्धिका विषयमा जिज्ञासा राखेका थिए भने अध्यक्ष ओलीले जवाफ दिएका थिए ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्रीबाट हटेपछि मुलुकमा नेपालको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति गर्व गर्ने सरकार छैन भन्ने कुरा विद्यार्थीहरूले बुझ्नुपर्ने स्पष्ट पारे । २०७४ सालमा आफू प्रधानमन्त्री हुँदा कालापानी क्षेत्रमा भारतले सेना राखेको ५८ बर्ष भइसकेको र कुर्सी खोसिएला, गुम्ला भन्ने डरले त्यसअघि कुनै पनि सरकारका प्रधानमन्त्री, मन्त्रीहरूले भारतीय सेना रहेको ठाउँभन्दा पश्चिम पनि नेपालको भू–भाग छ भन्ने उच्चारण समेत नगरेको बताउँदै उनले आफू सरकारबाट बाहिरिएपछि बनेका सरकारले पनि कुर्सी जोगाउनकै लागि कालापानी क्षेत्रको नेपाली भू–भागका बारेमा बोल्न नसक्ने अवस्थामा रहेको स्पष्ट पारे ।
उनले शैक्षिक गुणस्तर सुधारका लागि आफ्नो नेतृत्वको सरकारले धेरै काम गरेको र शिक्षा बेरोजगार सिर्जना गर्ने खालको नभई जीवन उपयोगी शिक्षा नीति हुनुपर्छ भन्ने मान्यता आफ्नो र एमालेको रहेको जानकारी दिए ।
अध्यक्ष ओलीले मुलुकमा अस्वस्थ राजनीतिका कारण अहिले विकास निर्माणको काममा रोकावट भएको बताए । साक्षात्कार कार्यक्रममा पार्टी पोलिटव्यूरो सदस्यद्वय आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ लगायतको पनि उपस्थिति थियो ।