
काठमाडौं, ३० कात्तिक । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी घटनाका घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने बताएका छन् ।
बिहीबार कीर्तिपुर अस्पताल पुगेर उर्लाबारी आगलागीबाट घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिदै स्वास्थ्यमन्त्री बस्नेतले गम्भीर घाइतेहरूलाई काठमाडौं ल्याएर उपचार भइरहेको भन्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने बताएका हुन् ।
उपचाररत २५ जना बिरामीहरूको राम्रोसंग उपचार भइरहेको र विदेशबाट पनि डाक्टरहरुलाई झिकाएर उपचार गर्ने जानकारी आफूले पाएको उनले बताए । मन्त्री बस्नेतले आर्थिक अभावका कारण बिरामीको उपचारमा कमी हुन नदिने र अस्पतालको खर्च मन्त्रालयले बेहोर्ने जिकिर गरे ।
त्यस्तै अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले २५ जना मध्ये ९ जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । उनले शुक्रबारबाट गम्भीर घाइतेहरुको शल्यक्रिया सुरु हुने बताए ।
गत कात्तिक २६ गते मोरङको उर्लाबारीको बरगाछीस्थित एक स्थानीयको घरमा आगलागी हुँदा निभाउन गएका ३० भन्दा बढी घाइते भएका थिए । घाइतेमध्ये गम्भीर भएकालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।















प्रतिक्रिया