
काठमाडौं, २९ कात्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।
यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ ।
यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।
हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–
१. सकियो तिहार : तिहारको मुख्य दिन आज नेपालीले मनाए भाइटीका पर्व, दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउनुका साथै मीठो मसिनो खुवाएका भने दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर गच्छेअनुसार दक्षिणा दिए ।
२. राष्ट्रपतिको तिहार : राष्ट्रपति रामचन्द्र पौडेलले लगाए भाइटीका, बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका ग्रहण ।
३. अञ्जली दिदीले लगाइन् टीका : काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई लगाइन् तिहारको सामूहिक टीका, विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले आज करिब दुई सय बढी दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिएकी जानकारी ।
४. बढ्दै बेरोजगार : नेपालमा बेरोजगारको संख्या बढ्दै, गत आर्थिक वर्ष २०७९/०८० मा भन्दा चालु आर्थिक वर्षमा नेपालमा ४३ हजार ६६९ जना बेरोजगार थपिएका जानकारी ।
५. दु:खीलाई छैन तिहार : जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितको आँगनमा आएन तिहार, रातको समयमा पर्ने शीत, पछिल्लो समयमा अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्तामा पीडित ।
६. प्रहरीबाट भाग्न खोजेपछि… : महोत्तरीमा प्रहरीको गोली लागेर दुईजना घाइते, प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेकोमा प्रहरीको गाडीबाट भागेपछि प्रहरीले गोली हानेको जानकारी, घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान ।
७. चीनको सहयोग : चीनियाँ कम्युनिष्ट पार्टीले नेपालका भूकम्पपीडितलाई गर्यो दुई करोड बढीको राहत सहयोग, नेपाली राजनीतिक दललाई दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको जानकारी ।
८. रेलको तालिका परिवर्तन : नेपाल रेल्वेले नयाँ समयतालिका निर्धारण गरी रेल सञ्चालन गर्ने, जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जानकारी ।
९. नेपाल स्वदेश फिर्ता : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट स्वदेश फिर्ता, भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा छलफल, नेकपा एस र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको जानकारी ।
१०. तिहारकै दिन गयो ज्यान : ललितपुरको टौखेलमा मोटरसाइकल रूखमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु, मृत्यु हुनेमा सिन्धुलीको मरिण गाउँपालिका घर भएका २४ वर्षीय राम माझी र २५ वर्षका विजय माझी ।
११. तोसिमाको सहयोग : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.तोशिमा कार्कीले भूकम्प पीडितको उपचारका लागि जाजरकोट अस्पताललाई एक महिनाको तलब सहयोग गर्ने घोषणा, संघीय तथा प्रादेशिक स्वास्थ्य मन्त्रालयलाई सहयोग गर्नका लागि ध्यानाकर्षण गराउँदै मनकारी नेपालीजनलाई सहयोग गर्नका लागि पनि अपिल ।
१२. धार्मिक सद्भावको उदाहारण : बाँकेको नेपालगञ्जमा मुस्लिम समुदायका अगुवाले दिदीबहीनीको हातबाट भाइटीका लगाएर मनाए तिहार, धार्मिक सद्भावलाई कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन भाइटीका लगाएको भनाइ ।
१३. बस दुर्घटना : भारतको जम्मू कश्मीरस्थित डोडामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु, १९ जना घाइते ।
१४. कप्तानले दिए राजीनामा : पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजमले दिए पदबाट राजीनामा, पछिल्लो समय पाकिस्तानको खराब प्रदर्शनपछि राजीनामा दिएको जानकारी ।
१५. नेपाल पराजित : चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित, हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा तान्जानिया २७ रनले विजयी ।















प्रतिक्रिया