८ कार्तिक २०८३, आइतबार

टिकटक बन्द गर्ने सरकारको निर्णय तानाशाही: सूर्य थापा (विज्ञप्तिसहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । नेकपा (एमाले) का पोलिट्ब्यूरो सदस्य सूर्य थापाले टिकटक बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक र परिवर्तनको स्वभाविक गति रोक्ने तानाशाही निर्णय भएको बताएका छन् ।

थापाले विज्ञप्ति जारी गर्दै संसदको वर्षे अधिवेशन अन्त्य भएको ११ दिन नबित्दै सरकारले गरेको निर्णय तानाशाही भएको टिप्पणी गरेका हुन् । उनले सरकारलाई होसमा फर्केर जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराएका छन् ।

यस्तै उनले टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई कानुनबमोजिम मात्र नियमन गर्न, नेपालमा दर्ता भएर मात्रै संचालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन पनि माग गरेका छन् ।

प्रेस विज्ञप्ति
टिकटक (Tiktok) बन्द गर्ने मन्त्रिपरिषदको आजको निर्णय खेदजनक रहेको छ। यसबाट ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड’ भन्ने नेपाली भनाई व्यवहारत: चरितार्थ गर्नखोजेको प्रष्ट भएको छ। संसारभरि टिकटकले हासिल गरेको लोकप्रियताले नेपाली समाजलाई पनि अत्यन्त छोटो समयमै प्रभावित गरेको छ। नेपाली जनजीवनका बहुआयामिक क्षेत्रमा गहिरो गरी जोडिएर यो वैकल्पिक मिडियाका रूपमा स्थापित छ। टिकटक लगायतका वैकल्पिक संचारका साधनहरूलाई व्यवस्थित गर्नु अत्यावश्यक छ । तर यो कार्य मन्त्रिपरिषदले स्वेच्छाचारी रूपमा बन्द गर्ने निर्णय गरेर होइन, संसदबाट कानुन बनाएर मात्रै गर्नुपर्छ। विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका समयमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा संसदमा दर्ता गरिएका चारवटा विधेयकहरू पारित गर्न भाँजो हालेर कानुन बन्न नदिने गैरजिम्मेवार तत्वहरूले संसदको बर्षे अधिवेशन अन्त्य भएको ११ दिन नबित्दै गरेको यस अलोकतान्त्रिक र परिवर्तनको स्वभाविक गति रोकी तानाशाही निर्णयको सहारामा अन्धकार युगतर्फ धकेल्ने प्रयत्नको जति निन्दा गरेपनि कम हुन्छ। टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई कानुनबमोजिम मात्र नियमन गर्न, नेपालमा दर्ता भएर मात्रै संचालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन जोडदार माग गर्दछु।म प्रचण्डपथको प्रेत बोकेर बन्द समाजतर्फ उन्मुख हुँदै धुन्धुकारी बाटोमा अघि बढेको सरकारलाई होसमा फर्केर जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराउन चाहन्छु।
सूर्य थापा
संघीय प्रतिनिधिसभा सदस्य
प्युठान
२७ कात्तिक २०८०