१ कार्तिक २०८३, आइतबार

गाजास्थित प्रमुख अस्पताल काम गर्न नसक्ने अवस्थामा: डब्ल्यूएचओ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । विश्व स्वास्थ्य सङ्गठन, डब्ल्यूएचओले गाजास्थित प्रमुख स्वास्थ्य केन्द्र अल-शिफा अस्पतालको अवस्था दयनीय र जोखिमपूर्ण बनेको चेतावनी दिएको छ।

अस्पताल अहिले लगभग बिजुली नभएको र खानेकुरा तथा पानीको अभावको अवस्थाबाट गुज्रिरहेको छ। पहिल्यैदेखिको गम्भीर अवस्थालाई अस्पताल क्षेत्र आसपास निरन्तर भइरहेका गोलाबारी र बमबारीले झन् बिगारेको र अल-शिफाले अस्पतालको रूपमा काम गर्न छोडेको डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन्।

त्यहाँ उपचाररत जोखिममा रहेका नवजात शिशुहरूलाई उक्त अस्पतालबाट अर्को अस्पतालमा सार्ने काममा सघाउन तयार रहेको इजरेली सेनाले दोहोर्‍याएको छ। महिना नपुगी जन्मेका प्रत्येक तीनमध्ये एक शिशुको बिजुली अभावका कारण ज्यान जाने गरेको अल-शिफा अस्पतालका शल्यक्रिया प्रमुख मारवान अबु सादाले बताए।

यसअघि इन्क्यूबेटरमा राखिएका नवजात शिशुहरूलाई बिजुली अभावका कारण शल्यचिकित्सा वार्डका शय्याहरूमा सारिएको छ। थुप्रै नवजात शिशुहरूले पाउनुपर्ने सेवा नपाइरहेको भन्दै उनले ती सबैको ज्यान जान सक्ने डर भएको बताए।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अल-शिफा अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै अस्पतालभित्र अझै कम्तीमा २,३०० जना रहेका जनाएको छ।