
रोल्पा, २४ कात्तिक। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् ।
शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, “झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीँ आधार बनाएर गरिएको थियो।”
“थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किँदा म जहिले पनि ऊर्जा लिएर फर्किन्छु।” प्रधानमन्त्रीले भने, “थवाङलाई देशले मात्रै चिन्दैन, सिंगो विश्वले चिन्छ। यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ।”
प्रचण्डले भने, “क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन। त्यो बांगोटिंगो हुन्छ। यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ। यो विज्ञानको नियम हो। जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौँ। संविधानमा नै समाजवादको सङ्कल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ।”
“आगामी विशेष महाधिवेशनमा हामीले समाजवादको बाटो थप स्पष्ट पार्छौँ। त्यहाँ गएर विचारको विकास र संश्लेषण पनि गर्छौँ। समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार चाहिन्छ।” प्रधानमन्त्रीले भने, “रोल्पा, रुकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूले क्रान्तिको अगुवाइ गरे। आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्नुपर्छ। समाजवादी क्रान्तिको लागि थवाङले फेरि पनि अग्रणी भूमिका खेल्नुपर्छ।”
“शान्ति प्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौँ। अहिले क्रमश: एकताको आधार तयार हुँदैछ। विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकताबद्ध हुन्छौँ।” प्रधानमन्त्रीले भने।
उनले थपे, “समाजवादको आधार तयार पार्ने उद्देश्यले नै केही नयाँ काम सुरु गरेका छौँ। सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ। मिटरब्याज पीडित किसानलाई न्याय दिइएको छ। यो निकै ठूलो काम हो। सरकारले विदेशमा रहेका लाखौँ नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ। यसले विदेशमा रहेका लाखौँ नेपाली र उनीहरूका परिवारको भविष्य सुरक्षित गरेको छ। अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ। नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारले जुन कदम थाल्यो, सुशासनका पक्षमा यति ठूलो अभियान कहिल्यै चलेको थिएन। यस्ता धेरै काम वर्तमान सरकारले गरिरहेको छ।”
“उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ। अहिले ७ अर्ब छुट्याइएको छ। छिट्टै थप ७ अर्ब थपेर सिधै किसानको हातमा पैसा जाने गरी उत्पादन र रोजगारीलाई प्रवर्धन गर्छौँ” प्रधानमन्त्रीले भने, “म सरकारमा आउँदा देश श्रीलङ्का बनिहाल्छ कि भन्ने थियो। अहिले त्यो अवस्था छैन। अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर, दबाबमुक्त भइसकेको छैन। तिहारलगत्तै आर्थिक गोलमेच गर्ने तयारीमा छु।”“सरकारले कूटनीतिक क्षेत्रका राम्रो पहल लिएको छ। भारत भ्रमणबाट सुरु भएको कूटनीतिक यात्रा संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ। नेपाल९भारतबिचको सीमा समस्या दीर्घकालीन रूपमा हल गर्ने प्रतिबद्धता भएको छ। २५ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना अगाडि बढेको छ। १० वर्षमा १० हजार बिजुली बेच्ने सम्झौता भएको छ। यी कुरा सामान्य छैनन्।” प्रधानमन्त्रीले भने ।
“संयुक्त राष्ट्रसङ्घको महासभा, इटालीको रोम र चीन भ्रमणमा सरकारले जुन भूमिका खेलेको छ, जसरी प्रस्तुत भएको छ, यसले देशको शिर उच्च बनाएको छ। चीनसँग नाका खोल्ने समझदारी भएको छ। कृषि, पर्यटन र आर्थिक क्षेत्रमा चीन सरकारले पनि राम्रो सहयोग गर्नेछ” प्रधानमन्त्रीले भने, “चीनसँग कृषि र पशुपालनमा पाइलट प्रोजेक्टमा सम्झौता भएको छ। त्यसमध्ये एउटा पाइलट प्रोजेक्ट थवाङमा ल्याइनेछ।”
प्रधानमन्त्रीले भने, “सामाजिक सञ्जाल नियमनको कार्यविधि बनेको छ। हिजो क्याबिनेटबाट स्वीकृत भएको छ। यसबाट हामी अराजकता र छाडापन अन्त्य गर्नैपर्छ। सम्मानित मिडियाको विकास गर्ने सरकारको दृढता छ। हिजो क्याबिनेट बैठकले देशका ३ वटा रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनामा रूपान्तरण गरेका छौँ। यी निकै महत्त्वपूर्ण निर्णय हुन्।”
प्रधानमन्त्रीले भनेयो, “थवाङमा पछिल्लो समय राम्रो विकास भएको छ। गणतन्त्रपछि राम्रो प्रगति भएको छ। भौतिक र मानवीय विकासमा यसले फड्को देखिएको छ। तपाईँहरूले थवाङको थप विकासका लागि राख्नुभएका विषयमा गम्भीर छु। यसका लागि थप पहल गर्नेछु।”















प्रतिक्रिया