
काठमाडौं, २२ कात्तिक । नेकपा एमालेले जिल्ला र पालिका अधिवेशनको डेडलाइन थपेको छ ।
आज बसेको एमाले सचिवालय बैठकले जिल्ला र पालिका अधिवेशन सक्ने मिति थपेको हो । यसअघि माघ मसान्तसम्म जिल्ला अधिवेशन गर्न सर्कुलर गरिएकोमा मिति परिमार्जन गरेर जेठ मसान्तसम्म पुर्याइएको हो ।
यस्तै बैठकमा ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको जानकारी पनि गराइएको थियो । गत प्रदेश अधिवेशनमा उम्मेदवार भएकाहरूको पद रिक्त भएको जानकारी गराइएको हो ।
एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भएमा पद रिक्त भएको मानिनेछ।
पद रिक्त हुनेमा लुम्बिनी प्रदेश अध्यक्षमा पराजित हरि रिजाल, बागमतीका प्रदेश अध्यक्ष बनेका कैलाश ढुंगेल र पराजित कृष्णप्रसाद दाहाल, गण्डकी प्रदेश अध्यक्षमा पराजित मायानाथ अधिकारी, कर्णालीमा प्रदेश अध्यक्ष बनेका गुलाबजंग शाह र कोशी प्रदेशमा अध्यक्षका उम्मेदवार विनोद ढकालको केन्द्रीय सदस्य पद रिक्त भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।















प्रतिक्रिया