
काठमाडौं, २२ कात्तिक । नेकपा एमालेले मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान थाल्ने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अभियानको मिति तय गरेको हो । अभियान मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट थालिने छ ।
अभियानको नाम ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको छ ।
सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अभियानलाई अघि सारेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सामाजिक सद्भाव बढाउदै एकता कायम गर्ने र निराशाको खेती मौलाउने प्रवृतिलाई दूर गर्न अभियान केन्द्रीत हुने ज्ञवालीले बताए ।
बैठकले जाजरकोट भूकम्पका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना पनि गरेको छ । भूकम्पका कारण घरबास गुमाएकाहरुको अस्थायी बसोबासको व्यवस्था गर्न मंसिर १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक अभियान सञ्चालन गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।
बैठकले अभियान तयारीका लागि मंसिर ६ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ । केन्द्रीय समिति बैठक काठमाडौंमा बस्नेछ।















प्रतिक्रिया