
काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमाल नेतृत्वको केन्द्रीय टोलीले जाजरकोट जिल्ला अस्पताल पुगेर भूकम्पमा परी घाइते भएकाहरुलाई भेट गरेको छ ।

उपमहासचिव रिमालले अस्पालतमा उपचार गरारहेका घाइतेहरूलाई भेट गरी स्वास्थ्यलाभको कामना गरेका हुन् ।
उपमहासचिव रिमालले जाजरकोट जिल्लास्थित एमालेको पार्टी पंक्तिलाई सम्पूर्ण ध्यान प्रभावित जनतालाई राहत र सहयोग गर्नमा केन्द्रित गर्न निर्देशन दिए ।

उनले रुकुम पश्चिमका एमाले नेताहरुलाई भेटेर सहयोगमा खट्न निर्देशन दिएको टोलीमा सहभागी केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

एमालेले मंसिरमा गर्ने मध्यपहाडी राजमार्गकेन्द्रित यात्रा अभियानका लागि सम्भाव्यता अध्ययनका गर्न हिजो शुक्रबार दैलेख पुगेको टोली जारकोटमा भूकम्पको कारण ठूलो जनधनको क्षति पुगेको जानकारी पाएसँगै आज जाजरकोट पुगेको हो ।
टोलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे जानकारी लिएको छ । एमालले यसअघि नै पार्टी पंक्तिलाई उद्वार र राहतमा लाग्न निर्देशन दिइसकेको छ ।
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।











प्रतिक्रिया