
हेटौंडा, १८ कात्तिक । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले भूकम्प प्रभावित क्षेत्रमा जोखिमप्रति सजग रहँदै तत्काल उद्धार तथा राहतको काममा लाग्न अनुरोध गरेका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका नेता थपलियाले आज एक अपिल पत्र जारी गर्दै भूकम्पमा परी घाइते भएकाहरुको उद्धार गरी उपचार गर्न र भूकम्प प्रभावित नागरिकहरुको उचित व्यवस्थापनमा जुट्न नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय सरकारहरु तथा सम्पूर्ण आम नेपालीजनमा अपिल गरेका हुन् ।
‘कार्तिक १७ राती पश्चिम नेपालको जाजरकोट जिल्ला केन्द्रविन्दु बनाई गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुनाउन पुगेका नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै उक्त भूकम्पमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यस दुःखद घटनामा कयौं व्यक्तिहरु बेपत्ता भइरहेको खबर छ । स्वास्थ्य केन्द्र र अस्पतालहरु बिरामीले भरिएको खबर छ । मध्य रातिमा भूकम्प गएकोले ठूलो मानवीय क्षति भएको हुँदा स्थानीय स्वास्थ्य संस्थाले थेग्न सक्ने अवस्था छैन् । यस्तो बेलमा बेपत्ताहरुको खोजी, घाइतेहरुको उद्धार गरी उपचार तथा भूकम्प प्रभावित नागरिकहरुको उचित व्यवस्थापनमा जुट्न नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय सरकारहरु तथा सम्पूर्ण आमनेपालीजनमा हार्दिक अनुरोध गर्दछु । साथै भूकम्पपछि पराकम्पहरु आइरहनसक्ने जोखिमप्रति सजग रहँदै तत्काल राहत र उद्धारको काममा लाग्न सम्बन्धित सम्पूर्णमा अनुरोध गर्दछु’ थपलियाले जारी गरेको अपिल पत्रमा उल्लेख छ ।












प्रतिक्रिया