
काठमाडौं, १५ कात्तिक । नेपाली युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण गरेका छन् ।
पाण्डेले यही अक्टुबर ३१ तारिखका दिन स्थानीय समय अनुसारबिहान ६ः४० बजे तान्जेनियाको पाँच हजार ८ सय ९५ मिटर अग्लो किलिमाञ्जारो हिमाल आरोहण गरेका हुन् ।

पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका थिए । पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेका हुन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए ।

उनले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखमा युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए ।
उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेको बताए ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले एक वर्ष भित्र सातै महादेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन् ।
अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्न जानु अगाडि पर्वतारोही पाण्डेलाई नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेर बिदाई गरेका थिए ।
















प्रतिक्रिया