
काठमाडौं, १२ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
टीयू र मूलपानी क्रिकेट मैदानमा हुने छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुन लागेको हो । नेपाल रहेको समूह ’ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् ।
समूह ’बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टीयू मैदानमा खेल्नेछ । खेलअघि नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक र कप्तानले विश्वकप एसिया क्षेत्र छनोट नेपालका लागि अवसर भएको र आफूहरू उत्साहित रहेको बताएका छन् ।
खेलअघि आइतबार टीयू मैदान कीर्तिपुरमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक मोन्टी देसाईले नेपालले केही समयदेखि लगातार खेल खेलिरहेको र कमीकमजोरीहरू सुधार गर्दै अघि बढिरहेको बताए । उनले प्रत्येक खेलमा छुट्टाछुट्टै रणनीतिका साथ अघि बढ्ने जानकारी दिए ।
त्यस्तै कप्तान रोहित पौडेलले यसअघिको खेलमा देखिएका कमीकमजोरीलाई अबको खेलमा दोहरिन नदिने बताए । उनले सन्दीप लामिछाने समावेश भएसंगै टीम व्यालेन्स र बलियो भएको जिकिर गरे ।
नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ । यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–ट्वान्टी विश्वकप खेल्न पाउने छन् ।















प्रतिक्रिया