
तुलसीपुर, ६ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने गरेको बताएका छन् । बडादसैं, शुभ दीपावली, छठ एवम् नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा १९ मा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
महासचिव पोखरेलले नेपाली संस्कृति र संस्कार खराब प्रवृत्तिका विरुद्धमा सुधारको पक्षमा काम गरिरहेको बताए । उनले संस्कृतिका नाममा फैलिएका विकृतिलाई नयाँ पुस्ताले हटाउँदै जानुपर्ने बताए ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले नेपालमा सीमाका कारण लागुपदार्थ दुर्व्यसनी बढ्दो क्रममा रहेकाले नेपाल सरकारले नियन्त्रणमा विशेष साधवधानीपूर्वक अभियान थाल्नुपर्ने बताए ।
उनले समाजमा बढ्दो दुर्व्यसनी हटाउन गृह मन्त्रालयको मात्रै पहलकदमी कमी भएकाले विद्यालय तहबाटै सचेतना अनिवार्य रहेको बताए ।
महासचिव पोखरेलले पछिल्लो समय घर परिवारका अभिभावकले बालबालिकामा कार्यव्यस्तताका कारण चासो नदेखाएका कारण दुर्व्यसनीको समस्या थप विकराल बन्दै गएकाले अभिभावकले चासो बढाउनुपर्ने बताए ।
कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले पालिकातर्फबाट लागुपदार्थ दुर्व्यसनी सचेतनाको कार्यक्रम बढाए पनि विद्यालय तहसम्म नपुग्दा प्रभावकारी बन्न नसकेको बताए । उनले प्रहरी सक्रियता र अभिभावक शिक्षा अनिवार्य रहेको बताए ।











प्रतिक्रिया