
काठमाडौं, ५ कात्तिक । गैरआवासीय नेपाली संघ एनआरएनमा पराजित समूहले समानान्तर कार्यसमिति घोषणा गरेपछि संघको ११औं महाधिवेशन भद्रगोल बनेको छ ।
संघको ११औं महाधिवेशनबाट डा. बद्री केसीसहितको टीम विजयी भएको छ । तर, अनलाइन भोटिङको मतपरिणाम प्रकाशित गर्दा भएको एउटा प्राविधिक त्रुटिलाई लिएर पराजित समूहले बबण्डर मच्चाएको मात्रै छैन, चुनावी परिणाम गरेका पराजितहरूले लोकतन्त्रको खिल्ली उडाउँदै हिजो मध्यरातमा छुट्टै कार्यसमितिको घोषणा समेत गरेका छन् ।

चुनाव परिणाममा उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट खसेको मत संख्या शून्य देखिएको थियो । डा. पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखिएपछि शर्मा र श्रेष्ठले सिस्टम ‘ह्याक’ गरेर डा.केसी समूहले ‘धाँधली’ गरेको आरोप लगाएका थिए।

एनआरएनएको ११ औं महाधिवेशनमा ४२ सय २७ कुल मतदाता थिए । ती मध्ये ३९ सय ५८ अर्थात् ९३.७ प्रतिशतले मतदान गरेका थिए । काठमाडौंबाट करिव ८ सयले मत खसालेका थिए । ‘भेरो भोटिङ’ले दिएको प्रष्टीकरण अनुसार डा. केशव पौडेलको अन्तिम स्पेलिङमा प्राबिधिक त्रुटि भएको थियो । प्रवासबाट गरिएको मतदानमा डा.पौडेलको अन्तिम अल्फाबेट ‘भी’ कायम भएको थियो । तर नेपालबाट भएको मतदानमा अन्तिम स्पेलिङ ‘बी’ कायम भएको थियो । देशबाहिर अर्थात ‘भी’का मात्रै काउन्ट गरिँदा समस्या उत्पन्न भएको थियो । पछि ‘चेक’ गर्दा नेपालबाट पौडेललाई ३ सय ५६ मत प्राप्त भएको थियो ।

प्रवासबाट १२ सय ४४ र नेपालबाट ३ सय ५६ मत गरी १६ सय मत प्राप्त गरी उनी उपाध्यक्षमा विजय भएको ‘भेरो भोटिङ’ले उल्लेख गरेको छ । झगडाको मुख्य निहुँ त्यही हो । यो समाधान नै हुन नसक्ने समस्या थिएन। तर, पराजित समूहलाई यसैलाई बहाना बनाएर परिणाम अस्वीकार गरेका छन । जबकी अष्ट्रेलियाको भेरो कम्पनीलाई अनलाइन भोटिङको जिम्मा दिने निर्णय अध्यक्षमा पराजित राजेन्द्र शर्मा र महेश श्रेष्ठसहितको समितिले गरेको थियो । भेरो भोटिङ कम्पनीसँग आफूलाई जोडेर आरोपित गरेकोमा आफू आश्चर्यचकित भएको अध्यक्ष डा.केसीको भनाई छ ।

यसो त चुनावमा धाँधलीको आरोप लागेपछि ‘भेरो भोटिङ’का सञ्चालकहरुसँग निर्वाचित अध्यक्ष डा.केसी, दुई प्रत्याशी शर्मा र श्रेष्ठ सहित निर्वाचन समितिका संयोजक यादव ढुङ्गानासहित समितिका सदस्यहरु ‘भेरो भोटिङ’ कम्पनीका सञ्चालक तथा प्राविधिकसँग जुम बैठक भएको थियो । प्रतिनिधिहरुको लागि पनि खुल्ला गरिएको जुम बैठकमा पूर्व अध्यक्ष जीबा लामिछाने, कुमार पन्त, संस्थापक भिम उदास, रामप्रताप थापा पनि सहभागी थिए।
जुम बैठकपछि ‘धाँधली’को आरोप लगाएका शर्मा र श्रेष्ठको समूह पनि सन्तुष्ट थियो । तर, चुनावमा आफैले अबलम्बन गरेको प्रक्रिया मान्दिन भन्दै शर्मा र महेश श्रेष्ठ समूहले एनआरएनए बिभाजन गर्दा संसारभर रहेका गैरआवासीय नेपालीको भावानामा चोट पुगेको निर्वाचित सचिव डा. नवराज रोश्यारा बताउँछन् ।
अष्ट्रेलियाको भोटिङ कम्पनी ‘भेरो भोटिङ’ २० वर्षअघि स्थापना भएको ख्यातीप्राप्त संस्था हो । यसले अष्ट्रेलियाका दर्जनौं सरकारी अनलाइन भोटिङ्ग सफलरूपमा सम्पन्न गराएको छ । यसले एनआरएनएको पनि ९ देशको अनलाइन भोटिङ्ग यसअघि गराएको थियो । एनआरएनएको रेकर्ड अनुसार यसले एनआरएनएको ९ देशको अनलाइन भोटिङ्ग यसअघि गराएको थियो । अमेरिका, अष्ट्रेलिया कतार, माल्टा, बेलायत, क्यानडा, जापान, कतार लगायतका देशको निर्वाचन गराएको थियो ।
हेमराज शर्मा भन्छन् – दलहरूले एनआरएनए कब्जा गर्न खोजे
यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित उपाध्यक्ष डा. हेमराज शर्माले राजनीतिक दलहरुले एनआरएन कब्जा गर्न खोजेको टिप्पणी गरेका छन् ।

एनआरएनएको हालै सम्पन्न निर्वाचनलाई लिएर कसैको जित र हारलाई पार्टीहरुले आफ्नो प्रतिष्ठासँग जोड्न नहुने बताउँदै शर्माले निर्वाचनको परिणामलाई अस्विकार गरेर कलंकको टीका नलगाउने सुझाव पनि दिएका छन् ।
‘५०-६० लाख गैरआवासीय नेपालीहरु बाहिर बस्छन् । ती मध्य एनआरएनएको चुनावको लागि भनेर मुस्किलले १ लाख सदस्य बन्छन् । १ लाख सदस्यहरूबाट छानिएका करिब ४००० प्रतिनिधिले एनआरएनको चुनावमा भाग लिन्छन् । एनआरएनको निर्वाचन पूर्णरुपमा पार्टीगत आधारमा हुँदैन, एनआरएनए भित्रको समिकरण आफ्नै खालको हुन्छ ।’ उपाध्यक्ष शर्माले फेसबुकमा लेख्दै भनेका छन्, ‘त्यसैले एनआरएनएको निर्वाचनमा कसैको जित र हारलाई पार्टीहरुले आफ्नो प्रतिष्ठासँग जोड्नु हुदैन् । निर्वाचन परिणामलाई अस्विकार गरेर कलंकको टीका लगाउने तिर नलाग्नुस् । कमसेकम नेपाली कांग्रेस जस्तो लोकतन्त्रमा विश्वास गर्ने दल र यसका कार्यकर्ताले त्यता तिर सोच्नै हुँदैन । बदनाम कार्यकर्ताको पछि लागेर डायस्पोरा नेपालीको चित्त दुखाउनु भयो भने २०८४ को आमनिर्वाचनमा थप बालेन, हर्क र रविहरु जन्मिने पक्का छ । एनआरएनए कब्जा होइन आम गैरआवासीय नेपालीहरुको मन कब्जा गर्ने बाटोमा लाग्नुस् ।’











प्रतिक्रिया