
काठमाडौं, ५ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित उपाध्यक्ष डा. हेमराज शर्माले राजनीतिक दलहरुले एनआरएन कब्जा गर्न खोजेको टिप्पणी गरेका छन् ।
एनआरएनएको हालै सम्पन्न निर्वाचनलाई लिएर कसैको जित र हारलाई पार्टीहरुले आफ्नो प्रतिष्ठासँग जोड्न नहुने बताउँदै शर्माले निर्वाचनको परिणामलाई अस्विकार गरेर कलंकको टीका नलगाउने सुझाव पनि दिएका छन् ।
‘५०-६० लाख गैरआवासीय नेपालीहरु बाहिर बस्छन् । ती मध्य एनआरएनएको चुनावको लागि भनेर मुस्किलले १ लाख सदस्य बन्छन् । १ लाख सदस्यहरूबाट छानिएका करिब ४००० प्रतिनिधिले एनआरएनको चुनावमा भाग लिन्छन् । एनआरएनको निर्वाचन पूर्णरुपमा पार्टीगत आधारमा हुँदैन, एनआरएनए भित्रको समिकरण आफ्नै खालको हुन्छ ।’ उपाध्यक्ष शर्माले फेसबुकमा लेख्दै भनेका छन्, ‘त्यसैले एनआरएनएको निर्वाचनमा कसैको जित र हारलाई पार्टीहरुले आफ्नो प्रतिष्ठासँग जोड्नु हुदैन् । निर्वाचन परिणामलाई अस्विकार गरेर कलंकको टीका लगाउने तिर नलाग्नुस् । कमसेकम नेपाली कांग्रेस जस्तो लोकतन्त्रमा विश्वास गर्ने दल र यसका कार्यकर्ताले त्यता तिर सोच्नै हुँदैन । बदनाम कार्यकर्ताको पछि लागेर डायस्पोरा नेपालीको चित्त दुखाउनु भयो भने २०८४ को आमनिर्वाचनमा थप बालेन, हर्क र रविहरु जन्मिने पक्का छ । एनआरएनए कब्जा होइन आम गैरआवासीय नेपालीहरुको मन कब्जा गर्ने बाटोमा लाग्नुस् ।’











प्रतिक्रिया