सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन

दैनिक नेपाल २०८० कार्तिक ४ गते १०:०६

चितवन, ४ कात्तिक । चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो ।

अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आधारभूत अस्पताललाई ट्रमा सेन्टरको रूपमा विस्तार गर्न आवश्यक रहेको बताए । अस्पताल राजधानी जोड्ने राजमार्गसँगै जोडिएकाले यसलाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्न सकिने उनको भनाइ थियो । अस्पतालको सेवाबाट इच्छाकामनासँगै तनहुँ, गोरखा र धादिङका जनता लाभान्वित हुने जनाइएको छ ।

इच्छाकामनास्थित दारेचोक स्वास्थ्यचौकीलाई आधारभूत अस्पतालका रूपमा नामकरण गरी सेवा प्रारम्भ गरिएको हो । गाउँपालिकाको वडा नं ४ कुरिनटारमै अस्पतालको आफ्नै भवन निर्माणाधीन छ । तत्कालका लागि स्वास्थ्यचौकीलाई अस्पतालका रूपमा विस्तार गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

संघीय सरकारको रु १३ करोड बजेटमा अस्पतालको १५ शय्याको भवन निर्माण भइरहेको छ । आगामी २०८१ सालसम्म निर्माण सम्पन्न भएर आफ्नै भवनबाट सेवा दिइने उनले बताए । भवन निर्माणपछि सेवा थप विस्तारको योजना रहेको उनको भनाइ छ । हाल अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले रु १३ लाख उपलब्ध गराएको अध्यक्ष गुरुङले बताए । अस्पतालमा दुई चिकित्सकसहित १५ स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

स्वास्थ्यचौकीको रूपमा रहँदा नै बाहिरी जिल्लाको समेत उपचार केन्द्र बनेको यस आधारभूत अस्पताललाई थप विस्तार गर्नुपर्ने आवश्यकता सो अवसरमा औँल्याइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित