१ कार्तिक २०८३, आइतबार

विदेशबाट फर्किएर पशुपालनमा लागे, अहिले कमाउँछन् महिनामै २ लाख

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २९ असोज । दाङको घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् ।

बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी हो।रोजगारीका सिलसिलामा मलेसिया र भारतमा केही समय बिताएका ४५ वर्षीया केसी २०७१ सालमा वैदेशिक रोजगारबाट फर्किएर पशुपालनमा व्यवसायमा लागेका थिए। अहिले उनको फार्ममा १८ वटा भैंसी र तिनका पाडापाडी छन्।

फार्मको नाम मालती बहुउद्देश्यीय पशु तथा कृषि फार्म राखेका छन्। उनको फार्ममा १८ वटा भैंसी र तिनका पाडापाडी छन्। केही दूध डेरी पसल र होटलमा दिन्छन् भने बाँकी घरघर लगेर बिक्री गर्छन्।

‘मलेसियामा तीन वर्ष काम गरें, त्यहाँबाट फर्केपछि कामको खोजीमा भारत पुगे। तर त्यहाँ पनि भने जस्तो काम पाउन सकिनं, त्यसपछि घरमै पशुपालन गर्ने योजना बनाएँ,’ उनले भने। उनका अनुसार पशुपालनबाट अहिले उनी मासिक दुई लाख आम्दानी गरिरहेका छन्। उनी आफ्नो फार्ममा उत्पादित ३० लिटरसँगै गाउँका अन्य किसानहरूले उत्पादन गरेको दूध संकलन गरी बिक्री गर्छन्।

विदेशमा जस्तै मेहनत गर्ने हो भने नेपालमा आम्दानी गर्न गाह्रो नहुने उनको बुझाइ छ। ‘विदेशमा १८ घण्टा काम गर्छौँ र कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौं तर कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौं,’ केसीले भने। उनले हाल अहिले स्थानीयलाई रोजगारी पनि दिएका छन्।

‘हरेक दिन बिहान ३ बजे उठेर भैंसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु, र बिहान साढे नौ बजेसम्म दूध बेचिसक्छु,’ उनले भने, ‘घरबाट निस्कनु अघि भैंसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र उनीहरुका लागि आहारा तयार पारिसक्छु।’

केसीले पशुका लागि घाँस पनि आफैं लगाएका छन् भने भने पराल र भुस पनि आफ्नै जग्गामा उत्पादन गर्छन्।