१ कार्तिक २०८३, आइतबार

इजरायल र हमासबीच युद्धको चौथो दिन : कुन देश कसको साथमा ?

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । इजरायल र हमासबीचको युद्ध आज चौथो दिन पुगेको छ । अहिलेसम्म इजरायलतर्फ ९ सय जनाको मृत्यु भएको छ भने इजरायली आक्रमणमा परी करिब ७ सय प्यालेस्टिनीको मृत्यु भएको छ ।

इजरायली सेनाले २३०० भन्दा बढी घाइते भएको जनाएको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

इजरायलले गाजा सीमामा एक लाख सैनिक तैनाथ गरेको छ । साथै ३ लाख सैनिकलाई तयार रहन भनेको छ ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले पनि गाजा पट्टीमा खाद्यान्न, पानी, बिजुली र इन्धनको आपूर्ति रोक्न अधिकारीहरूलाई आदेश दिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी लडाकु समूह हमासविरुद्ध सशक्त कारबाही सुरु भएको बताएका छन् ।

गत शनिबार देखि सुरु भएको युद्ध जारी रहेको छ । युद्ध जारी रहेका बेला विश्वका शक्तिशाली राष्ट्रहरु आ-आफ्ना धारणा राखिरहेका छन् ।

पश्चिमी देशहरूले इजरायललाई साथ दिइरहेका छन् भने मुख्यतया मध्य पूर्व राष्ट्रहरू हमासलाई समर्थन गर्न अगाडि आएका छन् । इरान र कतार जस्ता अरब राष्ट्र हमासको साथमा छन् ।

इरानी राष्ट्रपति इब्राहिम रायसीले आइतबार हमाससँग कुरा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इरान विगत धेरै वर्षदेखि हमासको उदार समर्थक रहेको छ । इरानले प्यालेस्टिनी लडाकू समूहलाई आर्थिक सहायता र सैन्य आपूर्ति मार्फत सहयोग गरिरहेको छ ।

हमासको अर्को बलियो समर्थक कतारले जारी तनावको लागि इजरायल नै जिम्मेवार हुने आरोप लगाएको छ । हमासलाई आर्थिक सहयोग गर्नेहरूमध्ये कतार एक प्रमुख हो । यस्तै असंख्य लेबनानी नागरिकहरूले इजरायल विरुद्ध हमासको लडाईमा ऐक्यबद्धता जनाएका छन् ।

यता, इजरायलको समर्थनमा बाहिर आएका अधिकांश पश्चिमी राष्ट्रहरूमा अमेरिका, बेलायत, अष्ट्रेलिया, फ्रान्स, नर्वे र अस्ट्रिया लगायतका देशहरू छन् ।

अमेरिकाले इजरायललाई सैन्य सहयोग पठाउने र जल तथा वायुसेनालाई बलियो बनाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गर्दै सहयोग पठाउने प्रतिबद्धता जनाएका हुन् ।

जारी युद्धमा चीन र इजिप्ट लगाएतका देशहरु भने तटस्थ बसेका छन् ।