
काठमाडौं, २२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन् ।
प्रधानमन्त्रीले इजरायलको बंकरमा रहेका विपिन सुवेदीसँग भिडिओ कुराकानी गरेका हुन्। विपीनले आज मात्रै उद्दारका लागि गुहार माग्दै भिडिओ सार्वजनिक गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्रीले विपीनसँग कुराकानी गरेका हुन् ।
प्रधानमन्त्रीले विपीनलाई यही विषयमा छलफल गर्न मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाइएको जानकारी गराउँदै छिट्टै उद्दार गर्ने आश्वासन दिएका छन् ।
कुराकानीमा प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई उद्धार गर्न सरकार तीन दिनदेखि लागिरहेको बताएका छन्।
‘तपाइँको रमेशजीसँग लगातार कुरा भइरहेको मैले थाहाँ पाएँ। अहिले परराष्ट्र मन्त्रीसँग पनि तपाइँको कुरा भइहाल्यो। हामी अस्ति रातिदेखि नै लगातार लागिरहेका छौं। स्थिति विस्तारै उसमा आइरहेको छ। अहिले पनि यही विषयमा छलफल गर्न क्याबिनेटको बैठक बोलाइएको छ। सर्वदलीय बैठक पनि बोलाइएको छ। इजरायली राजदूतावासमा पनि लगातार कुरा भइरहेको छ। सायद परराष्ट्र मन्त्रीस्तरमा पनि कुरा होला । यी सबै कुरा तपाइँले त्यहाँ विद्यार्थीहरूलाई कम्युनिकेट गरिदिन पर्यो।एकथरी मान्छेले झुट प्रचार गरिरहेका छन्, उनले भने ।
प्रधानमन्त्री बोलेपछि विपीनले भने, ‘सबैजनालाई भनिसकेँ। एम्बेसीले डेढ घन्टामा लिन आउँछौं । हजुरहरू एउटा ब्यागमा आफूलाई अहिले चाहिने एक जोर कपडा र पासपोर्ट ब्यागमा हालेर तयारी अवस्थामा बस्नुस्। लाइभ लोकेशन शेयर गर्नुस् भन्यो त्यो पनि गरेँ।
विपीनले कुरा राखेपछि प्रधानमन्त्रीले ‘हामी तयारी गरिरहेका छौँ । रमेश जीसँग कम्यूनिकेशनमा रहनुस् । ल बाँकी कुरा रमेशजीसँग गर्नुस्,’। भन्दै फोन दिएका छन् ।















प्रतिक्रिया