
काठमाडौं, २८ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको तस्करीको ६० केजी सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ परेका छन् । उनी भारतमा पक्राउ परेका हुन् ।
गत साउन २ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ६० किलो ७ सय १७ ग्राम सुन बरामद गरेपछि चिनियाँ नागरिक पेङ योङसिन भागेर भारत पुगेका थिए ।
भारतीय सीमा सुरक्षा बलले उनलाई जासुस भएको आशंकामा नियन्त्रणमा लिएको थियो । पेङ नेपालमा भित्रिएको तस्करीको सुन हङकङबाट पठाउने मध्येका मुख्य व्यक्ति भएको सीआईबीको निस्कर्ष छ।
पश्चिम बंगालको शिलगढीको खरिबारी क्षेत्रबाट भारत प्रवेश गर्ने क्रममा उनलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। ३९ वर्षीय पेनलाई खरिबारी प्रहरी ठानामा राखिएको छ।
सुन प्रकरणमा कारबाही गर्नका लागि उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरिरहेको सीआईबी स्रोतले जनाएको छ।















प्रतिक्रिया