
काठमाडौं, २७ भदौ । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियान बुधबारबाट सुरु भएको छ ।
बुधबार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर खोप अभियानको सुरुवात गरेका हुन् ।
शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले औपचारीक रुपमा पहिलो पटक पाठेघरको क्यान्सरविरुद्ध प्रभावकारी मानिएको एच.पि.भी खोप शुभारम्भको लागि देशका ७ वटा अस्पताल छानेको बताए ।
७७ वटै जिल्लाका ९ वर्षदेखि १५ वर्ष तलाका किशोरीहरूलाई यो खोप दिने सरकारको लक्ष्य भएको बताउदै उनले हाललाई २० हजार भाइल खोप आईपुगकाले त्यसबाटै अभियान सुरुवात गरिएको जानकारी दिए ।
पाठेघरको मुखको क्यान्सरका कारण अकालमा ज्यान गुमाइरहेका महिलाको जीवन बचाउन सरकार संवेदनशिल रहेको उनको भनाइ छ । कार्यक्रममा स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रले अहिले १७ लाख किशोरीलाई यो खोपको आवश्यकता भएको र सबैका लागि पुग्ने गरी खोप उपलब्ध गराइदिन प्रस्ताव गरेको बताए ।
उनले एक वर्षभित्र सबैका लागि खोप आईपुग्ने जानकारी दिइन् । सरकारी तथ्याङ्ककअनुसार सन् २०२० को प्रतिवेदनअनुसार दुई हजार दुई सय ४४ महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार चार सय ९३ को मृत्यु भएको छ । पाठेघरको मुखको क्यान्सर ३५ वर्षदेखि ६४ वर्षका उमेर समूहका महिलामा धेरै हुने गरेको छ ।















प्रतिक्रिया