
ताप्लेजुङ, २३ भदौ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका एक सांसदले नेपाल प्रहरीका एक प्रहरी नायव उपरीक्षक (डिएसपी) र उनका परिवारलाई ज्यान मार्ने धम्की दिएका छन् ।
नेपाली कांग्रेस ताप्लेजुङका नेता समेत रहेका कोशी प्रदेश सभाका सांसद खगेनसिङ हाङगामले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी राजन लिम्बूलाई धम्की दिँदै परिवालाई समेत मार्ने धम्की दिएका हुन् ।
हिजो शुक्रबार सदरमुकाम फुङ्लिङमा प्रहरी प्रशासनविरुद्ध घरेलु हतियारसहितको प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै हाङगामले हिंसात्मक अभिव्यक्ति दिए ।
उनले कांग्रेसको नेतृत्वमा सरकार आएपछि डिएसपीको परिवार पत्ता लगाएर मार्ने हिंसात्मक अभिव्यक्ति दिए ।
‘तेरो बर्दी खोल्न पनि हामी तयार छौं । अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस ? कहाँ लुक्छस ? के खान्छस ? कस्तो लुगा लाउँछस् ? तेरो तेरो बाउ आमा कहाँ छ ? तेरो छोराछोरी कहाँ छ ? त्यो पनि पत्ता लाएर हामी मार्छौं । पानीमुनी लुकोस् कि पानीमाथि, खबरदार सक्छस् भने यहीँ आइज । लड्न आइजो, यहीँ आइजो । म लुगा खोल्न तयार छु तँसँग आइज । यहाँ आइज, खेल्न सक्छस् भने आइज ।’ प्रदेश सांसद हाङगामले भने, ‘तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस् ? तँलाई म तीस सेकेण्ड राख्दिनँ बाँकी । याद राख् तँलाईं । यो पनि खोल्, तेरो बर्दी खोल् । म जस्तो राजनीतिक भेला गर्न आइज । तिमीलाई राजनीतिक बहस गर्छौ कि,जनताको सेवा गर्छौ कि ? देश विकास गर्छौ कि समृद्धिको विकास गर्छौ ? वाकयुद्ध गरौं । होइन भने मुठभेड पनि गरौं तँ डिएसपीसँग । हेरौंला तँ डिएसपीलाई । तेरो रागतमापनि रातै रगत बगेको छ,यहाँ सारा हाम्रो सगतमा पनि रातै रगत बगेको छ । तर राजनीतिकको एउटा उखरमाउलो तातिएको बेला हामी मान्छे मार्न पनि डराउँदैनौं,मृत्युसँग पनि डराउँदैनौं ।’
हाङगामले आफू विरुद्ध प्रहरीले आक्रमण गरेको आरोप लगाउँदै प्रहरीविरुद्ध उत्रनु परेको बताए । बिहीबार राति प्रहरीको टोलीले आफ्नो निवास घेराउ गरी ढुंगा प्रहार गर्नुको साथै आफूमाथि पेस्तोल तेर्स्याएको उनको दाबी छ । सांसद हाङगामले प्रहरी प्रमुख लिम्बूको निलम्वन नभएसम्म आन्दोलन नरोकिने उल्लेख गरेका छन् ।
शुक्रबार कांग्रेसको तरुण दल र नेविसंघ ताप्लेजुङको अगुवाइमा पार्टी कार्यालयबाट विरोध जुलुस निकालिएको थियो । प्रर्दशनकारीले जिल्ला प्रहरी कार्यालय र प्रहरी सहायता केन्द्रको संरचनामा ढुंगा र लाठी प्रहार गरेका थिए । प्रहरी कार्यालयअघि प्रर्दशन गर्न पुगेका प्रर्दशनकारी आक्रोशित बनेपछि प्रहरीले हवाई फायरसमेत गर्नु परेको थियो ।
डिएसपी लिम्बूले बिहीबार राति बजार क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरीले मापसेसहित देखिएका केहीलाई सजग गराउने क्रममा विवाद सिर्जना भएको बताए । विवाद सामान्य भएर प्रहरीको टोली कार्यालय फर्कने क्रममा हतियार खोस्ने प्रयास भएको लिम्बूले बताए । उनका अनुसार हतियार खोस्न खोजेपछि थप विवाद भएको थियो । हाङगाम निवासको गेटभित्र खुकुरीसहित युवाको समूह देखिएपछि त्यहाँ प्रहरी पुगेको उनको भनाइ छ ।















प्रतिक्रिया