७ कार्तिक २०८३, शनिबार

बेरुजु फर्छ्यौटलाई प्रभावकारी बनाउन कार्ययोजना बनाउन समिति सभापति पोखरेलको निर्देशन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फर्छ्यौटलाई प्रभावकारी बनाउने प्रतिवद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

मंगलवार बसेको सार्वजनिक लेखा समिति बैठकमा सभापति पोखरेलले विद्यमान ऐन नियममा सुधार र प्रतिवद्धता सहितको कार्ययोजना बनाउन समिति सचिवलाई निर्देशन दिएका हुन् ।

उनले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्ने गरी बनाउन पनि आग्रह गरे । सभापति पोखरेलले उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरु र पेशा व्यवसाय मिल्ने सांसदहरुलाई राख्दा स्वार्थ बाझिने भएकाले नराख्न आग्रह गरे ।

समितिका २७ जना सांसदहरुले काममा गति दिनसके समितिको काम प्रभावकारी हुने उनको भनाइ छ । पोखरेलले समितिले तत्काल बेरुजु, महालेखा र लेखा उत्तरदायीहरूकोबीचमा अन्तरसंवाद र लेखा समितिका सदस्यहरु र सचिवालयको क्षमता अभिवृद्धि गर्न अनिवार्य आवश्यकता रहेको बताए ।

उनले समितिमा पर्ने उजुरीहरुको समितिमा छलफल हुने तर अध्ययन अनुसन्धान नगर्दा परिणाम आउन नसक्ने अवस्था रहेको भन्दै आगामी दिनमा समिति सदस्यहरुले अध्ययन गर्न आवश्यक रहेको धारणा राखे । बैठकमा एमाले सांसद योगेश भट्टराईले राजनीतिक दलहरू पारदर्शी र जवाफदेही बन्नुपर्नेमा जोड दिए ।

राजनीतिक दलहरूको आर्थिक व्यवहारलाई पनि संसदीय समितिले हेर्नुपर्ने उनको भनाइ छ । सांसद भट्टराईले लेखा समितिले राजनीतिक दलसँग सम्बन्धित विषयलाई पनि आफ्नो क्षेत्राधिकार भित्र राख्नु पर्ने बताए ।