७ कार्तिक २०८३, शनिबार

कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा: गृहमन्त्री श्रेष्ठ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।

गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले भने– “ऐतिहासिक पर्यटकीय तीर्थस्थल कागबेनीको बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्वका साथ अघि बढाउँछ ।”

सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाढीका कारण क्षति पुुगेका भौतिक संरचनाको पुनर्निर्माण गरिने गृहमन्त्री श्रेष्ठले बताए । कालीगण्डकी नदीको बगरमा थुप्रिएको नदीजन्य वस्तुका कारण उत्पन्न जोखिम तथा क्षति न्यूनीकरण गर्दै बस्तीलाई सुरक्षित बनाउने विषयमा ढङ्गले छलफल गरिने उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने गृहमन्त्री श्रेष्ठले बताए ।

“कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले गम्भीरताका साथ पहल गर्नेछ,” श्रेष्ठले भने, “बेनी–जोमसोम–कोरला सडकमा बाह्रैमास यातायात सञ्चालनको व्यवस्था मिलाउन लागिपरेका छौँ ।” क्षतिग्रस्त सडक, पुुल, खानेपानी, विद्युत् र सिँचाइ आयोजना पुनर्निर्माणको काम तत्काल अघि बढाइने उनको भनाइ छ ।

गृहमन्त्री श्रेष्ठले बाढीले क्षति गरेको कागबेनीको बस्तीको निरीक्षणका साथै स्थानीय तह, प्रशासन र सुरक्षा निकायका अधिकारीसित छलफल गरेका थिए ।

कागखोलाको बाढीबाट एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ ।