
उदयपुर, १० भदौ । अविरल वर्षासँगै पहिरो गएपछि बिहीबार रातिदेखि अवरुद्ध मदन भण्डारी राजमार्ग शनिबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड दुई दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो ।
राजमार्गको उदयपुरगढी गाउँपालिका–६ स्थित मौवासीखोलाको पुलनजिकै पहिरो गएपछि अवरुद्ध भएको यातायात शनिबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए ।
गाईघाट दिक्तेल सडक आयोजनाको जेसिबीले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । मुख्यगरी कोशी प्रदेशबाट राजधानी काठमाडौं जाने छोटो बाटो सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो अवरुद्धपछि पूर्वबाट आएका सवारीलाई गाईघाटबाट लहान हुँदै बर्दिबासतर्फ पठाइएको थियो भने पश्चिमबाट पूर्व आएका सवारीलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पूर्वतर्फ पठाइएको थियो ।
साथै बिहीबार राति झरेको पहिराका कारण अवरुद्ध सिद्धिचरण राजमार्गको कटारी–घुर्मी खण्ड पनि शनिबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत कटारी नगरपालिका–११ को वेतेनीबाट वडा नं १४ को लेखानी खण्डका विभिन्न स्थानमा पहिरो गएपछि अवरुद्ध सडक पहिरो पन्छाएपछि खुलेको हो ।
मिर्चैया–कटारी–घुर्मी सडक योजनाको कार्यालय कटारीका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार कटारी–घुर्मी सडकखण्डमा विभिन्न स्थानमा खसेको पहिलो शुक्रबार साँझसम्ममा पन्छाइएको हो । शुक्रबार साँझदेखि नै अवरुद्ध सडकमा आउजाउ सुरु भएको र शनिबारदेखि पूर्णरूपमा सडक खुलेको उनको भनाइ छ ।















प्रतिक्रिया