३ कार्तिक २०८३, मंगलबार

अदालतले हर्क साम्पाङलाई फेरि भन्यो- व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्नू

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई अदालतले पुन: व्यक्तिको जग्गामा प्रवेश नगर्न आदेश दिएको छ ।

उच्च अदालत विराटनगरले साम्पाङलाई दोस्रो पटक व्यक्तिको जग्गामा प्रवेश नगर्न र धरपकड नगर्न आदेश दिएको हो । यसअघि गत साउन ६ गते मेयर साम्पाङले धरान-४ मा रहेको रोशन अधिकारी र रोशनी अधिकारीको जमिनामा जबरजस्ती वृक्षारोपण गरेपछि अधिकारी अदालत पुगेका थिए ।

अधिकारीको रिटमा सुनुवाई गर्दै अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न, वृक्षरोपण गर्ने कार्य नगर्न, नगराउनु भनेको थियो। तर फेरि केही दिनअघि फेरि साम्पाङ रोशनको जग्गामा पुगेका थिए । जसले गर्दा साम्पाङविरूद्व जग्ग्गा धनी अधिकारी प्रतिवादमा उत्रिएका थिए । उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरलसमेत बनेको छ ।

मेयर साम्पाङ अदालतको आदेश लत्याउँदै फेरि आफ्नो जमिनमा पुगेपछि अधिकारी दोस्रो पटक अदालत पुगेका थिए ।

अधिकारीको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत विराटनगरका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले पुन पुरानै आदेश दोहोर्‍याउँदै साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न आदेश दिएको हो ।