
काठमाडौं, ६ भदौ । प्रतिनिधि सभाको बैठक आज बुधबार बस्दैछ । हिजो दिउँसो बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित भएपछि आजको लागि बोलाइएको हो । आजको बैठक दिउँसो ३ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
करिब एक महिनादेखि संसद अवरुद्ध र स्थगित हुँदै आएको छ । ६० किलो सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले गत १० साउनदेखि संसद बैठक अवरोध गर्दै आएको हो । आज बस्ने बैठक भने अवरुद्ध नहुने देखिएको छ ।
सोमबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा उच्चस्तरीय समिति बनाउने सहमति भएको थियो । बैठकले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे रहेको कार्य दललाई समितिको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो ।
हिजो मंगलबार सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरु सम्मिलित कार्यदलले उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको छ । उक्त मस्यौदालाई आज बस्ने सर्वदलीय बैठकमा पेस गरिने र बैठकले अन्तिम रुप दिने बताइएको छ । सर्वदलीय बैठकले मस्यौदालाई अन्तिम रुप दिए संसद बैठक अवरुद्ध नगर्ने एमालेले जनाएको छ ।











प्रतिक्रिया