२८ कार्तिक २०८३, शनिबार

कम्युनिष्ट पार्टीको वैचारिक नेतृत्व एमाले होः पृथ्वीसुब्बा गुरुङ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, ३ भदौ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा कम्युनिष्ट पार्टीको वैचारिक नेतृत्व एमाले मात्र भएको बताएका छन् ।  शनिबार एमाले नवलपुर प्रचार विभागले कावासोतीमाआयोजना गरेको जिल्ला स्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका नेता गुरुङले शान्तिपुर्ण जनक्रान्तिबाट सामन्तवादको शासन व्यवस्था अन्त्य भएको र सामान्तवादी उत्पादन प्रणाली सकिएर पुँजीवादी उत्पादन प्रणालीमा देश प्रवेश गरेकाले अबको गन्तब्य समाजवाद भएको स्पष्ट पारे ।

उनले एमालेले बोकेको जनवादी कार्यक्रम अर्थात जनताको बहुदलीय जनवाद (जबज)कै जगमा शान्तिपूर्ण जनक्रान्ति सफल भएको बताए । नेता गुरुङले भने ‘आफ्नो माटो सुहाउँदो नीति एमालेले बोकेका कारण आज शान्तिपूर्ण क्रान्ति सफल हुन सम्भव भएको हो ।’ समाजवादका लागि समाजको आर्थिक, सामाजिक विकासलाई जोड दिनुपर्ने उनको तर्क थियो ।

भेलामा एमाले गण्डकी प्रचार संयोजक राजीव पहारीले पार्टीको नेतृत्वमा बनेका सरकारहरुले गरेका राम्रा कामहरु जनताको बीचमा स्थापित गराउनु प्रचारको मुख्य कार्यभार भएको बताए ।

गण्डकीमा मुख्यमन्त्री गुरुङकै नेतृत्वमा खानेपानीको अभियान थालिएको बताउँदै उनले विकासको आधारभूत कुरा जनताको बीचमा कार्यन्वयनको चरणमा हुँदै सरकार छोड्नु परेकाले ती कार्यक्रमहरु कता छन् ? भनेर जनताले खोज्ने बेला भएको बताए ।

एमाले गण्डकी प्रचार विभागका सदस्य विद्रोही गिरीले एमालेको वैचारिक पक्ष, राजनीतिक दृष्टिकोणका बारेमा कार्यकर्ताले बुझ्ने र बुझाउने काम गर्नुपर्ने बताए । राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको चट्टानी अडान तथा राष्ट्र निर्माणको स्पष्ट दृष्टिकोण समृद्ध नेपाल सुखी नेपालीको अभियान प्रचार कार्यको विषय र प्राथमिकता हुनुपर्नेमा गिरीको जोड थियो ।

भेलामा एमाले नवलपुरका इञ्चार्ज मन केसी जिसी, सह इञ्चार्ज कृष्ण पौडेल, जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले शुभकामना मन्तव्य राखेका थिए ।

जिल्ला स्तरीय भेलामा एमाले गण्डकी प्रदेश कमिटिका उपसचिव एवम् प्रचार विभाग प्रमुख रश्मी आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए। जिल्लाको प्रचार योजनाका बारेमा जिल्ला प्रचार विभाग प्रमुख सागर पोखरेलले प्रस्तुत गरेका थिए । आठ वटा पालिकाका सचिव, उपाध्यक्ष तथा प्रचारको क्षेत्रमा क्रियाशिल ६० जनाको सहभागितामा कार्यक्रम भएको थियो ।