
काठमाडौं, २ भदौ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतिर र पुर्वतर्फ सरदर स्थान भन्दा दक्षिणतिर रहेको छ ।
भारतको ओडिसा र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मधेश प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बांकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार यस्तो छ आज शनिबारको मौसमः
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः
देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।











प्रतिक्रिया