
नाइजर, २७ साउन । गत महिना आफ्ना सुरक्षाकर्मीले पदच्युत गरेपछि हिरासतमा लिइएका नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई शनिबार उनको निजी चिकित्सकको टोलीले भेटेको छ ।
राष्ट्रपतिका चिकित्सकसहित अन्य टोलीले राष्ट्रपतिलाई हिरासतमा पुगी भेटेका र उनको सामान्य स्वास्थ्य परीक्षण गरिएको हो ।
राष्ट्रपति बाजुमको चिकित्सक टोलीका एक सदस्यले भने, “राष्ट्रपति बाजुमले आज आफ्नो चिकित्सकलाई भेट्नु भएको छ र चिकित्सकले बाजुम, उहाँकी पत्नी र छोराका लागि खाना पनि ल्याउनुभएको थियो ।” स्रोतले भन्यो, “अवस्था हेर्दा उहाँ ठीक हुनुहुन्छ ।”
जुलाई २६ मा सेनाले सत्ता कब्जा गरी बन्धक बनाएपछि लोकतान्त्रिक विधिबाट निर्वाचित बाजोम, उनकी श्रीमती र २० वर्षीय छोराको स्वास्थ्य र हिरासतको अवस्थालाई लिएर चिन्ता बढ्दै गएको छ ।
युरोपेली संघ र अफ्रिकी संघले पनि बाजुमको पक्षमा आवाज उठाएका छन् । संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर तुर्कले बाजुमलाई हिरासतमा राखिएको घटना अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको उल्लङ्घन गर्दै अमानवीय र अपमानजनक व्यवहार हुन सक्ने बताएका छन् ।
अमेरिकाका उच्च कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले सेनाले बाजुमको परिवारलाई रिहा गर्न अस्वीकार गरेका भन्दै उक्त घटनाप्रति खेद व्यक्त गरेका छन् । ह्युमन राइट्स वाचले यसै साताको सुरुमा बाजुमसँग कुराकानी गरेको जनाएको छ । एचआरडब्लुका अनुसार ६३ वर्षीय बाजुमले आफू, आफ्नी श्रीमती र छोरामाथि गरिएको व्यवहारलाई ‘अमानवीय र क्रूर’ भनेका छन् ।
सीएनएनले गत हप्ता गरेको रिपोर्टमा राष्ट्रपति बाजुमलाई अलग्गै राखिएको थियो र उनलाई अपदस्थ गर्नेहरूले सुख्खा भात र पास्ता खान बाध्य पारेका बताइएको थियो । एएफपी















प्रतिक्रिया