
काठमाडौं, २४ साउन । नेकपा (एमाले) को अवरोधका कारण बुधबार पनि राष्ट्रियसभाको बैठक प्रभावित भएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने भन्दै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको हो ।
एमाले सांसदहरूले बैठकको आकस्मिक समयमा बोल्ने क्रममा भने अवरोध गरेका थिएनन् । आकस्मिक समयपछि अन्य कार्यसूची अघि बढाउन खोज्दा एमालेको सांसदहरूले विरोध जनाएका हुन् । एमाले सांसदले उठेर विरोध जनाएपछि सत्ता पक्षका सांसदहरूले सहज रुपमा सभा सञ्चालन हुनुपर्ने र सबैले बोल्न पाउनुपर्ने भन्दै विरोध गरेका थिए ।
त्यसअघि बैठकमा एमाले सांसद बिमला घिमिरेले सुन प्रकरणमा सरकारको छानविन समितिले अनुसन्धानलाई निष्कर्षमा पुर्याउन नसक्ने भएकाले उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने जिकिर गरिन् ।
सांसद घिमिरेले सत्तापक्षकै सांसदले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको र अनसन बस्छु भनेर बोलेको धारणा राखेपछि कांग्रेस सांसद रमेशजंग रायमाझीले आपत्ति जनाएका थिए । रायमाझीले बोल्दै नबोलेको कुरालाई प्रतिपक्षीले आरोप लगाएको भन्दै रेकर्ड खोलेर हेर्न माग गरे ।
सत्तापक्ष र प्रतिपक्षी सांसदहरूबीच वाद–प्रतिवाद भएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सहज रुपमा बैठक सञ्चानल गर्न आग्रह गरेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक साउन २६ गते शुक्रबारका लागि बोलाइएको छ ।















प्रतिक्रिया