
काठमाडौं, २२ साउन । नेकपा एमाले संसदको अवरोध हटाउन तयार भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सभामुखसहितको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा एमाले आजको संसद चल्न दिन सहमत भएको हो ।
सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले संसद अवरोध गर्दै आएको थियो ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौलाले आजको बैठकमा गृहमन्त्रीले जवाफ दिने र नेताहरूले पनि आफ्नो कुरा राख्ने बताए । गृहमन्त्रीले जवाफ दिँदा एमालेको माग सम्बोधन नगरे पुन संसद अवरोध हुने उनले बताए ।
‘उच्चस्तरीय छानबिन समिति गठन गर्छौं भन्ने आयो भने बैठक अगाडि जान्छ । त्यसो भएन भने हामी तस्करलाई संरक्षण गर्ने सरकारको रबैयाको विरोध गर्छौं र उच्चस्तरीय छानबिनको माग गर्छौं’ बर्तौलाले भने ।
बर्तौलाले संसदमा गतिरोध सरकारका कारणले आएको बताए । सरकार कुनै पनि पक्षमा अडान छोड्ने पक्षमा नरहेको र प्रतिपक्षलाई गलाउने पक्षमा रहेको बताए ।
सत्तापक्षले जनतामा भ्रम छरेर प्रतिपक्षबिच नै फाटो ल्याउन लागिपरेको बताए । आज पनि एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन आग्रह गरेको र सरकारको एउटै कुरा समिति गठन गर्न सकिँदैन भन्ने मात्रै रहेको उनले बताए ।















प्रतिक्रिया