
काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यहरुले माग गरेका छन् ।
केन्द्रीय समिति बैठक चौथो दिनसम्म आइपुग्दा बैठकमा बोल्ने सदस्यहरुले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गरी दोषि देखिए कारबाही गर्न माग गरेका हुन् ।
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम भेपमा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरुले महराप्रति पनि छानबिन हुनुपर्ने बताएका छन् । पार्टी भित्रका नेताहरुमा सुशासन कायम गराउन नसकेमा बाहिर पनि गराउन नसकिने भन्दै नेताहरुले पार्टीभित्रैबाट सुशासनप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।
बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य माधव सापकोटाले बैठकमा सुशासनको सम्बन्धमा गम्भिर छलफल भइरहेको बताए । उनले नेताहरुको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरुमाथि पनि प्रश्न उठेको बताए ।
पार्टी उपाध्यक्ष महराको सम्बन्धमा मिडियामा आउने बित्तिकै पक्राउ गर्ने कानूनी व्यवस्था नभएको भन्दै उनले अनुसन्धानको दायरामा ल्याउनुपर्ने गरी कुनै उजुरी नआएको बताए । यद्यपी कोही नेताहरुको संलग्नता यस्तो प्रकरणमा संलग्न भएको देखिएमा कारबाही गर्ने प्रधानमन्त्रीले बचन दिएकोले सो बचनमा विश्वास गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘के स्पष्ट पारौँ भने मिडियामा आउन बित्तिकै मान्छे पक्राउ गर्ने हाम्रो कानूनी र संवैधानिक व्यवस्था छैन । त्यसो गर्नका निमित्त उजुर पर्नुपर्यो । उजुर नै परेर पक्राउ नपरेको या पक्राउ नगरेको, अनुसन्धानको दायरामा नल्याएको भए सरकारको कमजोरी हुन्थ्यो । ठूलो एउटा पेपरले ब्यानर न्युज बनायो भन्ने बित्तिकै मान्छे पक्राउ गर्ने हो भने त देश नै पूरै हिरासत हुने खतरा हुन्छ । यहाँ त एकले अर्कोलाई आरोप लगाउने । त्यसैले म के स्पष्ट पार्न चाहन्छु भने पार्टीभित्र गम्भिरतापूर्वक छलफल भएको छ, र हाम्रो पार्टी भित्रका पनि कोही न कोही नेताहरु यस्तो प्रकरणमा जोडिनुभएको छ भने छोड्दिन भनेर प्रधानमन्त्रीले, पार्टीले अध्यक्षले भनिसकेको सन्दर्भमा धेरै अविश्वास, आशंका नगर्न र खासगरी क्विन्टल सुन प्रकरणलाई निष्कर्षमा पुर्याउन सबैले सहयोग गरौँ ।’











प्रतिक्रिया