२८ कार्तिक २०८३, शनिबार

रास्वपाले महिलाका लागि मात्र बस चलाएर सस्तो राजनीति गर्न खोज्योः शंकर पोखरेल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि मात्र निःशुल्क बस चलाएर सस्तो राजनीति गर्न खोजेको बताएका छन् ।

बिहीबार फेसबुकमा लेख्दै महासचिव पोखरेलले आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र सार्वजनिक यातायात सञ्चालन गर्न खोजेका हुन् भन्दै प्रश्न गरेका छन् ।

‘दुनियाँका धेरै मुलुकहरुमा महिलाहरु बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवाद बाहेक महिलाहरु सुरुदेखिनै तुलनात्मक हिसावले स्वतन्त्र थिए । उत्पादनको काममा परिवारका सदस्यहरुसँग मिलेर एकसाथ काम गर्दथे । जबकी अहिले युवाहरुको ठूलो संख्या रोजगारीका शिलशिलामा विदेशीएका बेला ठूलो संख्यामा महिलाहरु परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका छन् ।’ पोखरेलले भनेका छन्, ‘यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान ? जिज्ञासा उठ्नु स्वभाविक हो ।’

महासचिव पोखरेलले नेपाली समाजमा यतिबेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता रहेको उल्लेख गर्दै चितवन महिला जागरण र जागृतिको थलो रहेको बताएका छन् ।

‘पंचायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरुले ठुलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिए । तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ भन्ने प्रश्न जागृत भएको छ । ’ पोखरेलले भनेका छन्, ‘नयाँ र वैकल्पिक शक्ति बनाउछौ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ । तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौ ।’

नेता पोखरेलले चितवनबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गर्नुपर्ने उल्लेख गरेका छन् ।