
मकवानपुर, ३१ असार । मकवानपुरको बकैया गाउँपालिकाले भोलि साउन १ गते सोमबारबाट सूर्ती र मदिराजन्य पदार्थ सेवनमा रोक लगाउने भएको छ ।
गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले एक सूचना जारी गर्दै साउन १ गतेबाट गाउँपालिका भित्र सूर्ती र मदिराजन्य पदार्थ सेवनमा रोक लगाउन लागिएको जनाएका छन् ।
गाउँपालिकालाई लागुऔषध मुक्त स्थानीय तहको रुपमा स्थापित गर्न सूर्ती र मदिरा सेवनमा रोक लगाउन लागिएको सूचनामा उल्लेख छ ।
‘लागुपदार्थ मुक्त गाउँपालिकाको रुपमा स्थापित गर्न गाउँ कार्यपालिकाको निर्णय अनुसार कानुनद्वारा निषेधित र नियन्त्रित लागुपदार्थहरु जस्तो गाँजा, चरेस, अफिम, भाङ, सुईद्वारा प्रयोग गरिने लागुपदार्थ, ट्यावलेटको माध्यमबाट प्रयोग गरिने लागुपदार्थ, पाउडरको माध्यमबाट प्रयोग गरिने लागुपदार्य, मदिराजन्य लागुपदार्थ (जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार लगायत) र सुर्तीजन्य लागुपदार्थहरु मिति २०८० श्रावण १ गतेबाट बकैया गाउँपालिकाको क्षेत्रभित्र ओसार-पसार, बिक्री वितरण, तथा प्रयोग गर्न पूर्ण रुपमा निषेध गरिएकोले आम बकैयाबासीहरुको लागि यो सूचना प्रकाशन गरिएको छ ।’ सूचनामा भनिएको छ, ‘यो सूचनाको वेवास्ता गरी माथि उल्लेख भए अनुसारको लागुपदार्थको प्रयोग भएको पाईएमा उल्लेखित सामाग्रीहरु जफत गरी कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत सम्पूर्णमा जानकारी गराईन्छ ।’
यसैगरी, गाउँपालिका भित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतले सूचनाको वेवास्ता गरी लागुपदार्थको प्रयोग गरेको पाइएमा दोब्बर सजाय हुने समेत सूचनामा उल्लेख छ ।












प्रतिक्रिया