
काठमाडौं, ३० असार । नेकपा (एमाले)का नेता तथा पूर्वगृहमन्त्री भिम रावलले संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमण बारे प्रश्न उठाएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै रावलले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को कार्यान्वयनका लागि नेपाल आएर सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन रहेको भन्दै प्रश्न गरेका छन् ।
“एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन ?”, रावलले भनेका छन्, “अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठूला दलका नेताहरूले ‘भेटवार्ता’ गर्नैपर्ने कुराको रहस्य के हो ?”
हिजो शुक्रबार एक दिने नेपाल भ्रमणमा आएका लुले शुक्रबारनै विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका थिए । विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर उनका श्रीमती सीता दाहालको निधनप्रति समवेदना व्यक्त गरेका थिए ।
उनले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टचार भेटवार्ता गरेका थिए ।
लुले भेटवार्तामा एमसीसीको हालसम्मको प्रगतिका बारेमा छलफल गर्दै एमसीसी कार्यान्वयनमा जोड दिएका छन् ।











प्रतिक्रिया