
काठमाडौं, २९ असार । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडको एकीकृत कारोबार आजदेखि सुरु भएको छ ।
लक्ष्मी र सनराइज एकापसमा गाभिएर बनेको ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ले आजदेखि एकीकृत कारोबार सुरु गरेको हो ।
दुई संस्था मर्जरका लागि गत जेठ ८ गते अन्तिम सम्झौता भएको थियो । दुवै संस्थाको असार ३ गतेको साधारणसभाबाट पारित मर्जरसम्बन्धी विशेष प्रस्ताव बमोजिम नेपाल राष्ट्र बैंकले यही असार २२ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।
मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् ।
यसैगरी, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । मर्जपश्चात् बन्ने नयाँ बैंकमा हालका लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयबहादुर शाह हुनेछन् । तर, सनराइज कार्यकारी सुमन शर्मा भने बाहिरिने भएका छन् । स्वेच्छिक अवकास सुविधामा शर्मा बाहिरिने भएका हुन् ।
यी दुवै बैंक एक आपसमा गाभिएपछि अर्थात लक्ष्मी सनराइजको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ हुनेछ । हाल लक्ष्मीको बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड र सनराइजको १० अर्ब ११ करोड रुपैयाँ बढी थियो । बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । बैंकको निक्षेप पौने ३ खर्ब र कर्जा लगानी साढे २ खर्ब बढी हुनेछ ।
लक्ष्मी र सनराइज बैंक मर्जभएसँगै नेपालमा हाल वाणिज्य बैंकहरुको संख्या २० वटा भएको छ । लक्ष्मी र सनराइज बैंक समान हैसियत अर्थात १ः१ स्वाप रेसियोमा मर्ज भएका हुन् ।
अब लक्ष्मी सनराइज बैंकको शाखा २८४ वटा पुग्नेछ भने बैंक कर्मचारीहरुको संख्या ३ हजार १७० पुग्नेछन् ।















प्रतिक्रिया