
काठमाडौं, २५ असार । आज बिहान ११ः०१ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक भोलिका लागि सरेको छ ।
विशेष कारणवश आजको बैठक भोलि मंगलबार बिहान ११ः०१ बजेका लागि सरेको संसद सचिवालयले जनाएको छ ।
गत बुधबारबाट संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक अवरुद्ध आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिको कारण बैठक अवरुद्ध हुँदै आएको हो ।
प्रधानमन्त्री प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै भारतले नेपालको प्रधानमन्त्री बनाउने गरेको संकेत गर्दै आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत प्रतिपक्षी दलले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको बताउँदै आएका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशको स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथि आँच आएको र प्रधानमन्त्रीले पदमा बस्ने नैतिक अधिकार गुमाएको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
यसैबीच आज प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ । गत बुधबारबाट स्थगित हुँदै आएको प्रतिनिधि सभा बैठक आज अपरान्ह तीन बजेका लागि बोलाइएको छ ।
तर आजको बैठक पनि अवरुद्ध हुने देखिएको छ । एमालेले प्रधानमन्त्रीको राजीनामा माग गदै आफ्नो अडान कायमै राखेको छ ।











प्रतिक्रिया