
काठमाडौं, २१ असार । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव लगाएत सत्ता गठबन्धनका शीर्ष नेताहरुको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाको विषयमा छलफल भइरहेको बुझिएको छ । हिजो संघीय संसद अन्तर्गतको दुवै सदन अवरुद्ध भएपछि त्यसको विषयमा छलफल भइरहेको स्रोतले बतायो ।
प्रधानमन्त्री प्रचण्डले भारतले नेपालको प्रधानमन्त्री बनाउने आसयको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सहितका दलहरुले संसद बैठक अवरुद्ध गरेका थिए । एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेको छ ।
हिजो अवरुद्ध भएर स्थगित भएको राष्ट्रिय सभा बैठक आज दिउँसो बस्दैछ भने प्रतिनिधि सभाको बैठक भोलि बस्दैछ ।
प्रधानमन्त्री प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले भारतले नेपालको प्रधानमन्त्री बनाउने आसयको अभिव्यक्ति दिएपछि उनको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।











प्रतिक्रिया