
काठमाडौं, १९ असार । आमन्त्रित टोली कुवेतलाई पेनाल्टी सुटआउट पराजित गर्दै घरेलु टोली भारतले साफ च्याम्पियनसिप फुटबल–२०२३ को उपाधि जितेको छ ।
मंगलबार राति भारतको बैंगलोरस्थित श्री कान्तेराव स्टेडियममा भएको फाइनलमा निर्धारित र अतिरिक्त समयमको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टी सुटआउट ४–४ गोल भएपछि सडेन डेथमा भारतले कुवेतलाई ५–४ गोलले हरायो । सडेन डेथमा भारतले गोल गरेको थियो भने कुवेतले गोल गर्न सकेन ।
यसअघि खेलको पहिलो हाफको १४औँ मिनेटमा कुवेतका साबिब अल खालदीले गोल गरेका थिए भने भारतका लागि ३८औँ मिनेटमा लल्लियाजुआला छाङटेले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफ र अतिरिक्त समयममा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
योसँगै भारतले सबैभन्दा बढी ९ पटक साफको उपाधि जितेको छ । यसअघि भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफको उपाधि जितेको थियो ।















प्रतिक्रिया