
काठमाडौं, १४ असार । राष्ट्रिय वाणिज्य बैंकको एकजना ग्राहकको खाताबाट १२ लाख रूपैयाँ गायब भएको छ ।
नक्कली फेसबुक पेज बनाएर ठगी गर्ने गिरोहले जापानमा रहेकी नेपाली महिलाको १२ लाख २० हजार रूपैयाँ गायब पारेको हो । मोबाइल बैंकिङको पासवर्ड बिर्सिएपछि ति महिलाले बैंकको उक्त नक्कली फेसबुक पेजमा समस्या राखेकी थिइन् ।
उक्त पेजबाट मागिएको विवरण महिलाले उपलब्ध गराउने वित्तिकै पैसा गायब भएको पाइएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । महिलाले उक्त पेज नक्कली भएको भेउसमेत पाउन सकिनन् । पैसा गायब भएसँगै आफूलाई कर्मचारी बताउने ती व्यक्ती सम्पर्कबाहिर भएको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार पीडितको बैंक खाताबाट नबिल बैंकमा प्रकाश नेवारको नाममा रहेको खातामा ५ लाख, प्राइम कमर्सियल बैंकमा नेवारकै नाममा रहेको खातामा २ लाख ८० हजार, कुमारी बैंकमा नित्यानन्द आचार्यको नाममा रहेको खातामा २ लाख र कुमारी बैंकमा शेरसिंह थापा क्षेत्रीको नाममा रहेको खातामा २ लाख ४० हजार रूपैयाँ ट्रान्सफर भएको पाइएको छ ।
गिरोहमध्ये प्रहरीले थापालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीमा उनले फेसबुक पेजमा रहेको मोबाइल नम्बर आफ्नो नभएको तर पीडितको बैंक खाताबाट आफ्नो खातामा पैसा आएको स्वीकारेका छन् । उनले नित्यानन्दसँग चिनजान भएको र नेवारसँग एकपटक भेटेको पनि उल्लेख गरेका छन् ।
उनी कलङ्कीस्थित न्यु गन्डकी गेस्ट हाउस एन्ड खाजा घरका सञ्चालकसमेत हुन् । प्रहरीसँगको बयानमा आफ्नो गेस्ट हाउसमा नित्यानन्द ५ महिनासम्म बसेको र आफूलाई तिर्न बाँकी रहेको २ लाख ८० हजारमध्ये पीडितको खाताबाट २ लाख ४० हजार पठाएको बताएका छन् ।















प्रतिक्रिया