
काठमाडौं, १२ असार । साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।
भारतको बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो। नेपालका लागि खेलको ८० औं मिनेटमा आशिष चौधरीले गरेको गोल नै निर्णायक बन्यो।
राष्ट्रिय टोलीमा आशिषको यो पहिलो गोल हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले निर्णायक गोल गरेको थियो।समूह ‘ए’ मा रहेको नेपालको पहिलो जित हो। तर, नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ।
नेपालले ३ खेलमा ३ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा रह्यो। पाकिस्तानले भने अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ। पाकिस्तान पुछारमा रह्यो।
पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो। पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।
यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेको छ । कुवेत ६ अंक जोडेर शीर्ष र ६ अंक जोडेको भारत दोस्रो स्थानमा रहेको छ ।
साफमा नेपालले पाकिस्तानलाई सन् २००८ मा हराएको थियो। नेपालले पाकिस्तानलाई १५ वर्षपछि हराएको हो। जितसँगै नेपालले अंकतालिकामा ३ अंक जोड्दै तेस्रो स्थानमा रहेर साफको यात्रा अन्त्य गरेको छ। पाकिस्तान भने जीतविहीन भयो।















प्रतिक्रिया